Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेपालको प्रथम रेडपाण्डा महोत्सवमा पदयात्रा (तस्बिरहरु)

नेपालको प्रथम रेडपाण्डा महोत्सवमा पदयात्रा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, बैशाख १ २०८१


नेपालको प्रथम रेडपाण्डा महोत्सवमा पदयात्रा (तस्बिरहरु)

इलाम (सन्दकपुर) । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न नेपालमा पहिलो पटक आयोजना भएको रेडपाण्डा महोत्सव इलामको सन्दकपुर गाउँपालिमा सम्पन्न भएको छ । रेडपाण्डाको माध्यमबाट पर्यापर्यटनको प्रवद्र्धन हुँदै आएको इलामको सन्दकपुर गाउँपालिका स्थित टप्पुमा महोत्सवको इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले महोत्सवको सुभारम्भ गरेका थिए ।

सन्दकपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति, होमस्टे महासघ कोशी प्रदेश समिति, सन्दकपुर गाउँपालिका समिति, डिभिजन वन कार्यालय इलाम, उच्च पहाडी संस्था नेपाल र रेडपाण्डा नेटवर्क नेपालको सहकार्यमा महोत्सवको सुभारम्भ भएको थियो । चैत्र २७ गतेबाट ३० गतेसम्म पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थियो ।


महोत्सवको सुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाम पर्यटकीय दृष्टिले संभावना क्षेत्र भएकाले सबै भए भएर विकास र प्रवद्र्धनमा लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले पर्यटन व्यवसाय अरु व्यवसाय भन्दा फरक भएकाले प्रवद्र्धनका काममा नेपाल पर्यटन बोर्ड लागि परेको बताए । उनले उपभोक्ताहरु पर्यटकीयस्थलमा नै पुगेर उपभोग गर्नुपर्ने अवस्था भएकाले पर्यटन प्रवद्र्धनका लागि सरकारी र गैरसरकारी संस्थाहरु लाग्नुपर्ने बताए ।


सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति प्रवद्र्धक र डिभिजन वन कार्यालय,उच्च पहाडी संस्था नेपाल र होमस्टे महासंघ प्रदेश र पालिका समितिको सहकार्यमा महोत्सवको आयोजना हुने भएको थियो । महोत्सवको सुभारम्भको अवसरमा बोल्दै केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले लोपोन्मुख वन्यजन्तुको अध्ययन अवलोकनका लागि विश्वभरका अध्ययनकर्मी, पर्यटकको आकर्षण बढेकाले पाण्डा संरक्षणको जनचेतना अभिवृद्धिका लागि महोत्सवको आयोजना गरिएको बताए ।


कार्यक्रममा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले इलामका जंगलमा भेटिने रेडपाण्डाको माध्यमबाट प्रर्यटन प्रवद्र्धनको काम गर्न सकिने प्रशस्त संभावना रहेको बताए । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको महोत्सवको सुभारम्भ कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायी, राजनीतिकर्मी, सामुदायीक वन उपभोक्ता समितिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
रेडपाण्डा महोत्सवमा चार दिन पदयात्रा
रेडपाण्डा महोत्सवको अवसरमा सन्दकपुर गाउँपालिकाको पर्यटकीय क्षेत्र टप्पुबाट जौबारी बजारसम्मको पदयात्रा गरिएको छ । रेडपाण्डा प्रजनन् केन्द्र निर्माण हुँदै आएको टप्पु सन्दकपुर गाउँपालिका १, २ र ३ को सीमा क्षेत्र हो । सन्दकपुर १ को रामसार क्षेत्र माईपोखरीदेखि टप्पु हुँदै छिन्टापुबाट ३६ सय ३६ मिटरको सन्दकपुर डाँडासम्म जोडिएको पदमार्गको पदयात्रा गरिएको हो । महोत्सवको सुभारम्भपछि पर्यटकीय क्षेत्र टप्पुबाट पदयात्रा शुरु भएको थियो ।

पदयात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल व्यवसायी, सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, होमस्टे व्यवसायीहरुको सहभागिता रहेको थियो । महोत्सवको उद्घाटनको दिन २०८० चैत्र २७ गते पर्यटकीय क्षेत्र छिन्टापु पुगेर बास बसेको थियो । ३३ सय ३ मिटरको उचाईमा रहेको छिन्टापुमा १८ प्रजातिको गुराँसको फुल, सगरमाथा, कंचनजंघा लगायत ३० बढी हिमालका दृश्यावलोकन गर्न सकिने क्षेत्र हो । छिन्टापु महाभारत पर्वतको दोस्रो अग्लो पहाड हो ।


पदयात्रा गर्ने टोलीले सीमसार क्षेत्र, पर्यटकीय गन्तव्यहरुको अध्ययन अवलोकन गरेको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । दोस्रो दिन छिन्टापुबाट इलामको अग्लो स्थान सन्दकपुर डाँडाको आहाल क्षेत्रसम्म पदयात्रा गरिएको थियो । छिन्टापु, गुरुवाले धुपि हुँदै आहाल पुगेर पदयात्रीको टोली बास बसेको थियो । महोत्सवको तेस्रो दिन आहाल क्षेत्रबाट कैयाकट्टासम्मको यात्रा गरिएको सन्दकपुर वडा नम्बर २ का वडाअध्यक्ष तथा महोत्सवको सुचना अधिकारी सनम राईले बताए ।


पदयात्राका क्रममा कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर आहाल क्षेत्रमा आएका पर्यटकहरु र पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो । पर्यटक र पर्यटन व्यवसायीहरुलाई सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले खदा ओडाएर सम्मान गरेका थिए । इलाम र भारत पश्चिम बंगालको शीर रहेको सन्दकपुर डाँडाबाट नेपाल भारत, भुटान र चीनको तिब्बत क्षेत्रका ६० बढी हिमश्रङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय, सूर्यास्त नेपाल र भारतका ग्रामीण बस्तीहरुको अवलोकनबाट आनन्द लिन सकिने क्षेत्र सन्दकपुरबाट पदयात्रा गर्दै पर्यटकीय क्षेत्र कैयाकट्टा पुगेर पदयात्रीहरु बास बसेका थिए ।


सन्दकपुरबाट चौरीचौक, कालपोखरी, रेडपाण्डा पर्यापर्यटन क्षेत्र दोबाटेमा पर्यटन व्यवसायीहरुसँग छलफल अन्तरक्रिया गर्दै कैयाकट्टा पुगेर पदयात्रीहरु बास बसेका थिए । कैयाकट्टामा चराहरु, लोकउन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम हुँदै आएको क्षेत्र हो । पदयात्राको अन्त्य पर्यटकीय क्षेत्र जौबारी पुगेर पुरा भएको थियो । कैयाकट्टाबाट गैरीबास हुँदै जौबारीको पदयात्रा २ घण्टाको रहेको थियो । टप्पुबाट शुरु भएको पदयात्रा जौबारी पुगेर अन्त्य भएसँगै महोत्सवको पनि समापन गरिएको थियो । पदयात्रामा १२ वर्षदेखि ७६ वर्षसम्म उमेर समुहसम्मको सहभागिता रहेको थियो । पदयात्रामा सहभागि सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले पर्यटकीय क्षेत्रहरुमा योग पर्यटनको प्रवद्र्धन गर्न सकिने बताए ।


पर्यटन बोर्डको छुट्टै प्रवद्र्धनात्मक यात्रा
महोत्सवमा नेपाल पर्यटन बोर्डले नेपाल र भारतका पर्यटन व्यवसायी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि सहभागि छुट्टै दुई दिने प्रवद्र्धनात्मक यात्रा आयोजना गरेको थियो ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईको नेतृत्वमा कोशी प्रदेशका पर्यटन व्यवसायीहरु र संचारकर्मी सहितको टोलीले सन्दकपुरको प्रवद्र्धनात्मक यात्रा गरेको हो । महोत्सवको अवसरमा नेपाल पर्यटक बोर्डले पनि विराटनगरदेखि सन्दकपुरसम्म पर्यटन व्यवसायी र पत्रकार सहितको टोलीका भ्रमण गरि फर्किएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार