सन्दकपुर । चौथो सन्दकपुर गोल्डकपमा रेडहर्स फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । दोश्रो क्वाटरफाइनल खेलमा माईजोगमाई खेलकुद विकास परिषदलाई सडनडेथमा हराउँदै रेडर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । खेलको ३७ औ मिनेटमा लपकुश राईले माईजोगमाईलाई अग्रता दिलाए । ४१ औ मिनेटमा रेडहर्संले बराबरी गोल गर्न सफल रहयो । खेलमैदानको दायाँबाट आएको क्रम माईजोगमाईको खेलाडीलाई लाग्दै गोल हुन पुग्यो ।
त्यसपछिको खेलमा गोल नभएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा दुवै टिमबाट ३–३ गोल भएपछि सडनडेथ मार्फत रेडहर्सले सेमीफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दि म्याच रेडहर्सका गोलरक्षक निशम दनुवार घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सितली एफसी माई नगरपालिका र पाँचथर फुटबल क्लब भिड्नेछन् । प्रतियोगिताको बिजेताले नगद २ लाख २ हजार २ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैया प्राप्त गर्नेछन् ।