फिक्कल । सुर्योदय नगरपालिकामा जारी प्रथम सुर्योदय मेयरकपमा आयोजकले बिजयी सुरुवात गरेको छ । करफोक खेलमैदानमा भएको उद्धघाटन खेलमा आयोजक सुर्योदय नगरपालिकाले माइ नगरपालिकामाथी ३–० को जित निकालेको हो ।

खेलको तेश्रो मिनेटमा आशिष राईले सुर्योदयलाई अग्रता दिलाएका थिए । त्यसैगरी १७ औ मिनेटमा सन्जोग क्षेत्रीले अग्रता दोव्वर बनाए । निरन्तर दबाब झेलेको माइ नगरपालिकाले २६ औ मिनेटमा तेश्रो गोल व्यर्होयो । आशिष राईले व्यक्तिगत दोश्रो गर्दै ३–० को जित दिलाए । खेलको दोश्रो हाफमा दुवै टिमले गोल गर्ने आधा दर्जन बढी मौकाहरु सदुपयोग गर्न सकेनन् ।

प्रतियोगिता अन्र्तगत दोश्रो खेलमा आइतबार कनकाई नगरपालिका झापा र देउमाइ नगरपालिका इलामबिच प्रतिस्पर्धा हुनेछ । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको उद्धघाटन समारोहका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख गणेश बराल रहेका थिए ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला समन्वय समिती उपप्रमुख चित्रकला बराइली, जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलामका प्रहरी प्रमुख बिपिनकुमार कर्मचार्य, सुर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

चैत्र ३ गते सम्पन्न हुने प्रतियोगितामा इलाम, झापा र पाँचथरका ११ नगरपालिकाको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख २५ तथा उपविजेताले ८५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।