इलाम । आगामी बैशाख १५ गते इलाम–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र इलामका संयोजक बिजय खम्बु र नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले संयुक्त अपिल पत्र जारी गर्दै नेम्वाङलाई जिताउन अपिल गरेका हुन् ।
अपिल पत्रमा भनिएको छ‘ नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री क. केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री क पुष्पकमल दाहाल प्रचण्ड बीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम क्षेत्र नं.–२ मा नेकपा एमालेको उम्मेदवार क. सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रुपमा अत्यधिक बहुमतका साथ बिजयी गराउनका लागि इलाम क्षेत्र नं.–२ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।’
माओवादी केन्द्रले इलाममा उम्मेदवारको रुपमा केन्द्रीय सदस्य धिरेन्द शर्माको नाम प्रस्ताव गरेपनि अन्तिम समयमा आएर दुवै पार्टीका केन्द्रीय अध्यक्षहरुले सहमती गरेर एमालेका नेम्वाङलाई साझा उम्मेदवारको रुपमा उठाउने निर्णय गरेका थिए ।
