इलाम– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र इलाम जिल्ला कमिटीले इलाम क्षेत्र २ को उपनिर्वाचनमा धिरेन शर्मा रमणलाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । चैत १३ मा चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीले पुनः केन्द्रीय सदस्य शर्माको मात्रै नाम प्रदेशमा पठाएको हो ।
केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको र प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुने पनि जानकारी दिए । शर्माका अनुसार केन्द्रीय कमिटीले सत्तारुढ दलसँग पनि छलफल गरी बझाङमा हुन लागेको प्रदेशसभा निर्वाचनको उम्मेदवारसमेत सहमतिका आधारमा टुंग्याउने सम्भावना रहेको बताए ।
माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यत्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुनलागेको हो ।