इलाम । इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्ये आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट इलामका किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न प्रयोग हुन्छ । उम्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्वपूर्ण आम्दानीका रूपमा अम्रिसो रहेको हो । हाल कुचो ७० देखि ७५ रुपैयाँसम्म प्रतिकिलो बिक्री भइरहेको व्यवसायी युवराज पोखरेलले बताए ।

पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो । डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।

बहुउपयोगी भएपछि अन्न उत्पादन गर्ने बारी मासेर पनि प्रयोग हुन थालेको छ । यहाँका किसानले एक क्विन्टलदेखि २० क्विन्टलसम्म संकलन गरि बिक्रि गर्दै आएको माङ्सेबुङ्गका व्यवसायी बालकृष्ण बस्नेतले बताए । अम्रिसो खेती एकपटक लगाएपछि १२–१५ वर्षसम्म हरियो घाँस र फूलबाट आम्दानी लिन सकिन्छ । यसको खेती नेपालका पूर्वी पहाडी जिल्लाहरूमा खेती हुँदै आएको छ । इलाममा व्यावसायिक खेती हुने अम्रिसो झापाको बिर्तामोड र धुलाबारीमा जम्मा भएर भारत निर्यात हुने गरेको छ । अम्रिसो किसानले बारीको डिल र बारी नै लगाउँदा हुने भएकाले खाध्यबालि उत्पादन हुने जमिन मास्नु पर्दैन । पछिल्लो समय दूधबाट राम्रो आम्दानी हुने भएपछि गाईभैँसीलाई घाँसका लागि अम्रिसो रोप्न थालिएको छ ।



