इलाम । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानासम्मिलित सेथु एफसीले भारतीय महिला लिगको आफ्नो खेलमा शुक्रबार होप्स फुटबल क्लबमाथि ३–१ को जित निकालेको छ । जितसँगै १२ खेलमा १७ अंक जोडेको सेथुले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
पराजित होप्स समान खेलबाट १६ अंकका साथ पाँचौं स्थानमा रह्यो । तिलक मैदानमा सेथुलाई जित दिलाउन काविया पाकिरिसामी, करेन एस्ट्रोसियो र लिशाम बबिना देवीले गोल गरे । होप्सका लागि नेहाले गोल गरिन् । खेलको २० औं मिनेटमा नेहाले गोल गर्दै होप्सलाई अग्रता दिलाएकी थिइन् । १० मिनेटपछि पाकिरिसामीले सेथुलाई बाराबरीमा ल्याइन् ।
६०औं मिनेटमा एस्ट्रोसियोले गोल गर्दा सेथु २-१ ले अगाडि बढ्यो । आठ मिनेटपछि बबिना देवीले गोल गर्दै सेथुलाई ३-१ को जित दिलाइन् । पहिलो रोजाइमै खेलेका अञ्जिला र गीताले पूरा समय मैदानमा बिताएका थिए ।