Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको दानाबारीमा सप्ताह व्यापी वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम (तस्बिरहरु)

इलामको दानाबारीमा सप्ताह व्यापी वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र ८ २०८०


इलामको दानाबारीमा सप्ताह व्यापी वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम   (तस्बिरहरु)

दानाबारी । डिभिजन वन कार्यालय, इलामको आयोजना र माई सब–डिभिजन वन कार्यालय, सुखानीको संयोजनमा सप्ताह व्यापी वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न भएको छ । “वन डढेलो नियन्त्रण गरौं, वन जंगल जोगाऔं र जैविक विविधतको संरक्षण गरौं” भन्ने मूल नारा सहित गत बिहिवारबाट सञ्चालन भएको सचेतना अभियान सम्पन्न भएको हो ।
सप्ताह कार्यक्रमको पहिलो दिनको शुरुवात भने रोङ सब डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा भएको थियो । जसमा वन डढेलो नियन्त्रण सम्बन्धि प्रचारप्रसार सामाग्रीहरुको वितरण तथा माईकिङ्ग गरी संचालन गरिएको निमित्त सब डिभिजन प्रमुख हरी योङहाङ्गले जानकारी दिए ।


कार्यक्रमको दोश्रो दिन भने माई सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गत शुक्रबारे बजार स्थित नमूना सामुदायिक वन उपभोत्ता समूहको कार्यालय प्राङ्गणबाट सचेतना र्याली शुरु भई माई नगर स्थित शुक्रबारे बजार, सितली बजार, चिलिमकोट, गोलटार, पालटार हुँदै महमाई सम्म परिक्रमा गरी माई नगरपालिकाको कार्यालय परिसरमा आई कोणसभामा परिणत भएको थियो । जसमा माई नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं सशस्त्र वन सुरक्षा शाखाका कर्मचारी, माई नगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता एवं वन हेरालु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


सभामा डिभिजन वन कार्यालय, इलामका अधिकृत रमेश शिवाकोटीले सम्बोधन गर्दै खुला एवं सरकारी सम्पत्तीको रुपमा रहेको वन क्षेत्रको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन सँगसँगैै वन डढेलोको जोखिम न्यूनिकरण गर्न वन उपभोक्ता समूहहरु, जनप्रतिनिधी, वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाहरु एकजुट भई लाग्नुपर्ने विषयमा अनुरोध गरेका छन् ।
माई सब–डिभिजन वन कार्यालय, सुखानीका निमित्त प्रमुख मनिषा कार्कीले संचालन गरेको उक्त वन डढेलो व्यावस्थापन सचेतना र्यालीलाई डिभिजन वन कार्यालय, इलाम र माई नगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरुले सहजीकरण गरेका थिए । प्रत्येक वन समूहहरुले आफ्नो छुट्टै ब्यानर र सचेतनामूलक प्लेकार्डहरु प्रस्तुत गर्दै सहभागीता जनाएका थिए ।


चुरे क्षेत्रमा पर्ने माई सब–डिभिजन वन कार्यालय अन्तर्गत ६० भन्दा बढी समूहहरु रहेका छन् । जसमा वन डढेलो प्रकोपका दृष्टिकोणले जोखिमपूर्ण भौगोलिक बनावट र मानव बस्तीहरु समेत रहेकाले स्थानीयहरुलाई वन डढेलो सम्बन्धी सचेतनाका कार्यक्रम अत्यावश्यक रहेको निमित्त प्रमुख कार्कीले बताएकी छन् ।
उक्त र्याली कार्यक्रमा “वृक्षारोपण गरौं, वनलाई डढेलोबाट जोगाऔं” “वन र वन्यजन्तुलाई माया गर्न सिकौं, प्रकृति र जैविक विविधताको संरक्षण गरौ” “वनलाई डढेलोबाट जोगऔं, समृद्धिका लागि वृक्षारोपण गरौं” “वन डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं, वन्यजन्तुका प्राकृतिक वासस्थानको संरक्षण गरौं” “वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो” “सबैका लागि वन, सधैंका लागि वन” जस्ता नाराहरुको प्रयोग गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार