Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भारत तर्फ भन्सार नहुँदा पशुपतीनगरमा अवैध कारोवार बढ्यो

भारत तर्फ भन्सार नहुँदा पशुपतीनगरमा अवैध कारोवार बढ्यो

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन १० २०७४


भारत तर्फ भन्सार नहुँदा पशुपतीनगरमा अवैध कारोवार बढ्यो

इलाम । भारत तर्फ भन्सार कार्यालय नहुँदा इलामको पशुपतिनगर नाकाबाट अवैध रुपमा सामान निकासी तथा पैठारी बढेको छ । नेपाल तर्फ वि.स २०१३ सालबाट भन्सार कार्यालय स्थापना भएर संचालनमा रहेपनि भारत तर्फ भने केही बर्ष अघिसम्म सुकिया पोखरीमा ल्यान्ड कस्टम कार्यालय थियो तर शसस्त्र द्धन्द्धको समयमा सुकियाको भन्सारले कारोवार गर्न छाडेपछि नेपाल तर्फका उत्पादन बैधानिक रुपमा भारत तर्फ निकासी हुन सकेको छैन ।
खुल्ला सिमाना भएका कारण पनि यहाँ दैनिक उपभोग्य वस्तु, कस्मेटिक र अवैध मदिरा निकासी तथा पैठारी बढेको छ । पशुपतिनगर नाकाबाट नुन, तेल, चिनी, चामल, अवैध मदिरा लगायतका वस्तुहरु नेपाल आयात हुन्छन् भने चाउचाउ, चुरोट, कस्मेटिक सामान नेपालबाट भारत तर्फ निर्यात हुने गरेको छ । भन्सार छलेरै यस्ता वस्तु आयात तथा निर्यात भइरहेको छ । २०३६ सालमा स्थापना भएको बजार स्थानियले सुकेको बताउँदै आएका छन् । शसस्त्र द्धन्द्ध अघिसम्म भारत तर्फ सुकियामा भन्सार कार्यालय संचालन हुँदा सो नाका हुँदै पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवा, अलैची, अम्लिसो लगायतका कृषिजन्य सामग्रीको निर्यात हुने गरेको थियो । तर त्यसपछि भारतीय पक्षले भन्सारको कारोबार बन्द गर्दा नेपालका उत्पादन बैधानिक रुपमा भारत तर्फ निकासी हुन नसकेपछि बजारको चहलपहल पनि घट्दै गएको एकिकृत सुर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।
बन्द सटर अवैध सामान राख्नको लागी
‘नेपाली र भारतीय ब्यापारीहरुको राम्रै चहलपहल हुने यस बजारमा पहिलाको तुलनामा कारोवार समेत घटेको छ । तर स्थानियले भनेजस्तो बजार सुक्ने अवस्था भने छैन । सटर बन्द भएका छन् । बन्द भएका सटरहरु बजार सुनसान भएर हैनन् अवैध रुपमा सामान निकासी पैठारीका लागि प्रयोग हुन्छन्’ एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा भने– ‘यी बन्द भएका सटर छन् नि, यी त सामान ल्याएर राख्ने ठाउँ हो । कति सटरहरुमा त भारत पठाउन राखिएका सामानहरु पनि छन् ।’
नेपालबाट निकासी हुने वस्तुहरु साना गाडीबाट भारत र नेपालको सिमावर्ती हिले भन्ने स्थानमा लगेर स्टोर गर्ने गरिएको छ । त्यस्तै नेपाल आयात हुने वस्तुहरु पनि पशुपतिनगर बजारको तल्लो भेग र बौद्धधाम सम्म स्टोर गर्ने गरिएको छ । खुल्ला सिमा भएको र वारीपारीका स्थानियको अर्मपर्म चल्ने भएकाले पनि केही सामान ल्याउने र लैजाने गरिन्छ । तर व्यवसायिक रुपमा नै तस्करी बढ्न थालेपछि स्थानिय स्वयम चिन्तित छन् । पशुपतिनगरमा भारतीय चिनी र अवैध मदिरा खुलेआम बिक्री भइरहेको छ ।
भौतिक संरचना नहुँदा ८ मध्ये ३ छोटी भन्सार मात्र संचालनमा
पशुपतीनगर भन्सार कार्यालय अन्र्तगत रहेका ८ वटा छोटी भन्सार मध्ये ३ वटा मात्र संचालनमा रहेका छन । छोटी भन्सार संचालन नहुँदा अवैध रुपमा भारत तर्फबाट निकासी भइरहेको हो । २०२१ सालमा पशुपतीनगर भन्सार कार्यालय मातहतमा इलाम र पाँचथरमा ८ वटा छोटी भन्सार संचालन रहेकोमा शसस्त्र द्धन्द्धका बेलामा छोटी भन्सार कार्यालयमा क्षति पुगेपछि बन्द हुन पुगेका थिए । शान्ति प्रक्रियापछि हाल ३ वटा मात्र पुनः स्थापना भइ संचालनमा रहेका छन ।
मानेभञ्ज्याङ र छिरुवामा छोटी भन्सार कार्यालय तथा छव्विसेमा छोटी नाका संचालनमा रहेपनि इलामको तुम्लिङ, बन्दुके र माइमझुवा तथा पाँचथरको मेमेङ र च्याङथापु छोटी भन्सार संचालनमा छैनन् । भौतिक संरचना नभएकाले सवै क्षेत्रमा छोटी भन्सार कार्यालय संचालन गर्न समस्या रहेको पशुपतीनगर भन्सार कार्यालयका नायव सुव्वा चेतनाथ खनालले बताए ।
संचालनमा रहेका छोटी भन्सारको समेत आफनो कार्यालय भवन नहुँदा भवन भाडाँमा लिएर कार्यालय सहयोगीको भरमा संचालन रहेको खनालले बताए । सिमा क्षेत्रमा भारतिय ल्यान्ड कस्टम नरही कस्टम चेक प्वाईन्टमात्र रहदा मालवस्तुको निर्वाध निकासी पैठारीमा समस्या हुनुका साथै दरबन्दि अनुसारका कर्मचारी नपठाउँदा नियमित कार्य संचालनमा समस्या रहेको छ ।
२०७२ बैशाख ६ गते कार्यालय प्रमुखका रुपमा आएका भन्सार अधिकृत प्रकाश पोखरेल २०७४ असोज २५ गते सरुवा भइ विरगञ्ज कार्यालयमा गएका कारण भन्सार कार्यालय प्रमुख विहिन बनेको छ । भन्सार अधिकृत नहुँदा हाल नायब सुव्वा सुरेशराज थपलिया निमितको रुपमा काम गरिरहेका छन ।
इलाका प्रहरी प्रमुख भन्छन ‘अवैध कारोवार भएको छैन’
यता इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख शिवकुमार बुढाथोकीले अवैध रुपमा निकासी र पैठारी हुने गरेको खण्डन गर्दै पशुपतिनगरबाट यस्तो अवैध कारोबार नभएको बताए । उनले भने ‘तपाइँहरुसँग केही जानकारी छ भने दिनु हामी कारवाही गर्छौँ ।’ सिमा क्षेत्रमा हुने अवैध कारोवार रोक्न आफुहरु तयार रहेको बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार