Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव (तस्बिरहरु)

इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन २५ २०८०


इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव (तस्बिरहरु)

इलाम । इलाममा बिहीबारदेखि आदिवासी याक्थुङ र लिम्बू साँस्कृतिक महोत्सव सुरु भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा ५ सय बढी च्याब्रुङ प्रदर्शन गरिएको थियो ।


संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको महोत्सपमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित भएको अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । महोत्सवको पहिलो दिन बिहिबार साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङरलिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच केःलाङ, धाननाच याःलाङ, पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् ।

दोस्रो दिन विभिन्न समसामयिक विषयमा छलफल र सबै सहभागीहरुलाई तरेचा लिम्बू साँस्कृतिक परिकारमा सहभागी गराइने अध्यक्ष सोङ्मीले बताइन् । त्यस्तै अन्य साँस्कृतिक परिकारहरु तोङ्बा एक प्रकारको जाँड, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।

आदिवासी याक्थुङ र लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सोङ्मीले बताइन् । ‘वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि इलाममा पहिलो पटक महोत्सव आयोजना गरिएको छ’ अध्यक्ष सोङ्मीले भनिन् ‘महोत्सवमा आदिवासी याक्थुङरलिम्बू समुदायको संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु रहेका थिए ।’

इलाम चोक बजारमा हुने महोत्सवमा याक्थुङरलिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने महोत्सवका सचिव राम योङ्हाङले बताए। छलफलमा करिब दुई सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ । छलफलमा कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान किरात नामकरणको अवस्था र भावी रणनीति, ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङरलिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल हुने सहसंयोजक योङहाङले जानकारी दिए ।

त्यस्तै, इलाममा विजयबहादुर लिम्बूलगायत सहिदको लिम्बुवानका लागि बालिदानको चर्चा र याक्थुङरलिम्बू भाषा अभियान्ता आसाहाङ मादेनको योगदानको चर्चा समेत गरिने उनले जानकारी दिए । लिम्बू समुदाय आदिवासी जनजाति समुदायका धेरै समुदायमध्ये भाषा, संस्कृति र लिपिमा धनी समुदाय हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकोमा इलाममा मात्र ४५ हजार सात रहेको छ । महोत्सवको उद्घाटन प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार