पशुपतिनगर (तिनखुट्टे) । रसुवाको विकट गाउँ यार्सामा जन्मिएका तुलु तामाङ्गले गाउँमै विद्यालय भएपनि कक्षामा बसेर अध्ययन गर्ने अवसर पाएनन् । सामान्य खेतीकिसानी गर्ने बुबाआमाको दुःख देखेर उनी कलिलो उमेरमै पर्यटकको भारी बोक्न थाले । घरमा आम्दानीको श्रोत नभएपछि उनले १४ वर्षको उमेरमा बिदेशी पर्यटकको झोला बोक्ने काम शुरु गरे । उनी विगत सम्झदै भन्छन्–‘खेतबारीमा उत्पादन हुने आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाइ भरिया काम गरियो ।’
पर्यटकको भारी बोकेर लामटाङ, गोसाईकुण्ड, पोखरा, खयर हिमाल, अन्नपूर्ण पदयात्रा क्षेत्र सयौँ पटक ओहोर दाहोर गर्दाको अनुभव उनीमा छ । पेट पाल्न गरुङ्गा भारी बोकेर हिउँको बाटोमा चिप्लि खेल्दै हिड्नुपर्ने पेशामा उनी लामो समय टिक्न सकेनन् । दुईवर्ष पर्यटकका भारी बोकेपछि उनी घर फर्किएर काठमाडौँ उपत्यकामा पसे । भारी बोक्दा लगाउने फाटेका चप्पल र एकसरो कपडा लगाएर काठमाडौँ पस्दा समुन्द्रमा हराए जस्तो लाग्यो ।
‘कामको खोजीमा एक्लै काठमाडौँ गएकाले कति दिन त सडकमै बास भयो । उनी भन्छन् ‘अक्षर चिन्ने भनेर काठमाडौ गएको थिए इलाममा चीज फ्याक्ट्रि खुल्ने हल्ला सुनेपछि त्यसैका पछि लागे ।’ २०५२ सालमा यती डेरी उद्योगमा काम गर्न इलामको पशुपतिनगर हानिएका उनी दूध बोक्ने, दूध तताउने, दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे । ‘शुरुमा चीज कस्तो हुन्छ भनेर नजिकैबाट हेर्न मात्र पाइन्थ्यो छुन पाइएन । उनी भन्छन् –‘लेबर काम गरेको दश वर्षपछि मात्रै चीज बनाउने कामको अवसर मिल्यो । उद्योगको मालिक परिर्वत हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार जस्तै भएका थिए ।
लक्कि डेरी स्थापना
२०६६ साल असोज १ गते यति डेरीमा काम गर्न छोडेका उनले असोज २३ गतेदेखि आफै चीज कारखाना खोल्ने योजना बनाए । ससुरालीमा बसेर १० हजार लगानीबाट दुध प्रशोधन सुरु गरेका उनी भन्छन् ‘सानो लगानी भएका कारण शुरुमा कसैले पनि पत्याउँदैनथ्यो, किसानले आफ्नो पैसा डुब्ने भन्दै मेरो उद्योगमा दूध बिक्रि दिन मानेनन् ।’ किसानबाट दूध नपाएपछि स्थानीय सुन्दरपानी दूग्ध उत्पादन सहकारी संस्थाबाट ४० लिटर दूध खरिद गरि लक्की डेरी शुरु गरेको तमाङको अनुभव छ ।
४० लिटर दूधबाट ५० लिटर दूध खरिद गर्ने तागत सजिलै भएन । उनी भन्छन् –‘चीज उत्पादन गरेपनि कहाँ लगेर बिक्रि गर्ने समस्या थियो । आठ दश महिना त बनाएको चीज घरमै थन्क्याएर ऋण खोजेर दूधको पैसा संस्थालाई तिर्नुपर्यो ।’ बजारमा चीजको माग हुन थालेपछि मात्रै किसानले दूध दिन थालेको तमाङको अनुभव छ । दैनिक १० केजी चीज बनाउन शुरु गरेपनि त्यसलाई ११ केजी बनाउन एक वर्ष नै कुर्नुपर्यो ।
अहिले उद्योगमा दैनिक ४ सय केजि चीज उत्पादन हुँदै आएको छ । सुरुमा चीज बजार अभावका कारण विक्री गर्न समस्या भएपनि अहिले भने चीजको महत्व बुझेसँझै लक्कि डेरी देशभरका किसानको अध्ययनको थलो भएको छ । लक्की डेरीबाट उत्पादन भएको चीज देशका काठमाण्डौ, पोखरा, विराटनगर, भारतका सिक्किम, दाजिलिङ निर्यात हुँदै आएको छ । उत्पादित चीज नेपाल र भारतमै खपत हुने भएकाले तेश्रो मुलुक निर्यात गर्न सकिएको छैन ।
सरकारी सहयोग
उद्योगमा उत्पादन हुने चीज राख्ने ठाउँ अभावले पिरोलिने मध्येका एक थिए पुर्वी इलामका उद्योगी तुलु तामाङ्ग । २०७२ सालको भुकम्पपछि उत्पादित चीज उद्योगमा राख्ने ठाउँको अभावले झापाको विर्तामोडस्थित कोलस्टोरमा पु¥याउनुपर्यो । दैवि प्रकोप र बजारको उतारचढावले चीजको माग नहुँदा राख्ने ठाउँ अभावले पिरोलिएका तामाङ्गले आफैँ कोलस्टोर निर्माण गर्ने सोच बनाए । योजना त बन्यो तर लगानी नभएपछि कार्यान्वयन गर्न सकिन तामाङ्ग भन्छन्–‘बजारमा चीज निर्यात नभएपछि किसानलाई दूधको पेमेन्ट दिनै समस्या थियो कोलस्टोर भवन निर्माण गर्ने आँटै आएन ।’ पूर्वी नेपालका सात जिल्लामा दूध, चिया, अदुवा, अलैची क्षेत्रमा लगानी गर्न उन्नती समाबेशी परियोजनाले कार्याक्रमको सहयोग पाए । किसानलाई दुग्ध व्यवसाय तालिमदेखि उद्योग स्तरउन्नतीमा मेसिन औजार र चीज राख्ने कोलस्टोर भवन निर्माणमा अनुदान सहयोग पाएपछि उद्योग उत्पादन भएको चीज आफ्नै कोल्डस्टोरमा राख्न पाइएको छ ।
कोलस्टोर भवन निर्माण भएपछि बजारको समस्या भएका बेला झापाको बिर्तामोड पु¥याउनुपर्ने समस्या हटेको मात्रै छैन खर्चको बचत भएको छ । ‘अफ सिजन र बजार समस्या भएका बेला उत्पादन भएको चीज राख्ने ठाउँ अभावले बिर्तामोडको कोलस्टोरसम्म पु¥याएर प्रतिकेजी पाँच रुपैयाँका दरले सुल्क बुझाउनुपथ्र्यो, तमाङ्गले भने–‘उन्नती परियोजनाको सहयोगपछि समयसँगै खर्चको बचत भएको छ ।’
३२ लाख ८४ हजार ४३ रुपैयाँमा निर्माण भएको आत्याधुनिक कोलस्टोर भवनमा उन्नती समावेशी परियोजनाले १६ लाख ४२ हजार २२ रुपैयाँ अनुदान प्रदान गरेको थियो । कोलस्टोर भवन निर्माणसँगै त्यसमा आवश्यक पर्ने कोलस्टोर कम्पेसर जडान समेत गरिदिएको छ । जसले गर्दा गर्मि मौसममा उद्योगबाट उत्पादन गरिएको चीजको गुणस्तरीयता कायममा सहयोग पुगेको छ । उन्नती सहयोगबाट निर्माण भएको कोलस्टोर भवनमा १२ हजार केजी तयारी चीज राख्ने क्षमता छ ।
उन्नती समावेशि कार्याक्रम पछि लक्कि डेरी अहिले प्रगतिपथमा छ । दुधको गुणस्तर, चीजको स्टोर गर्ने समस्या हट्नुसँगै उद्योगको स्तरउन्नती पछि उत्पादन क्षमता वृद्धि भएको छ । १ हजार लिटरको चिज भ्याटमा दूध प्रशोधन गर्दै आएका तामाङ्गको लक्कि डेरीमा १५ सय लिटरको नयाँ चीज भ्याट मेसिन थपिएको थियो ।
प्रदेश सरकारको साथ
तुल तामाङ्ग लक्कि डेरी उद्योगमा कोशी प्रदेश सरकारबाट अनुदान प्रदान गरेको छ । प्रदेश सरकार स्थापनाको प्रथम कार्यकालमा प्रविधि स्तरउन्नतीमा अनुदान प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले १० लाख अनुदान प्रदान गरेको थियो । प्रदेश सरकारको अनुदानले प्रविधि स्तरउन्नतीमा सहयोग पुगेको हो ।