इलाम । प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलको उपाधिको इलाम नगरपािलकाले जितेको छ । ठुलो टुडिखेलमा सम्पन्न फाइनल खेलमा सूर्योदय नगरपालिकालाई टाइब्रेकरमा हराउँदै इलामले उपाधि जितेको हो । उपाधिसंगै इलामले नगद २ लाख रुपैया प्राप्त गरेको छ ।
उपविजेता बनेको सूर्योदयले १ लाख रुपैया प्राप्त गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा इलामले ४–२ गोल अन्तरले जित निकाल्दै उपाधि जितेको हो । इलामको लागि जेनिफर राना, केरेन लिम्बु, झुमा पोर्तेल र पुर्णिमा राईले गोल गरिन् ।
सूर्योदयकी तुलसा बोहरा र अनिशा राईको प्रहार मात्र गोलमा परिणत बन्यो । भावना राईको प्रहार गोलरक्षक सुशिला चौधरीले बचाइन् । हिमा रावतको प्रहार फ्रेममा लागेर बाहिरिएको छ । खेलको वुमन अफ दि म्याच सूर्योदयकी प्रतिक्षा राईले प्राप्त गरिन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक सुशिला चौधरी, डिफेन्डर इलामकी झुमा पोर्तेल, मिडफिल्डर इलामकी मनिषा थापा मगर, प्रशिक्षक इलामकै पवन सुवेदी, सर्वाधिक गोलकर्ता इलामकै समिक्ष मगर, उदियमान खेलाडी माईजोगमाईकी बन्दना बेघा र सर्वोत्कृष्ट खेलाडी सूर्योदयकी हिमा राउत घोषित भइन् । उनीहरुले जनही ३ हजार प्राप्त गरेका छन् ।
माईभ्याली फुटबल क्ल्बको आयोजनामा फागुन १० गतेबाट जारी प्रतियोगितामा इलामको १० वटा पालिकाका महिला टिमको सहभागिता रहेको थियो । माईभ्याली फुटबल क्ल्बका अध्यक्ष दिनेश काफ्लेको अध्यक्षतामा भएको समापन कार्यक्रममा देउमाई नगरपालिकाकी उपप्रमुख एवम पुर्व खेलाडी पविमाया राई रहेकी थिइन् ।
कार्यक्रममा इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहालको विशेष आतिथ्यता रहेको थियो । इलामका वडाध्यक्ष नुतन देव दुलाल, गिरिराज रिजाल, दलमान तामाङ, प्रदेश फुटबल संघका उपमहासचिव पुर्ण फत्र, सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन क्लबकी सचिव रिना घले र उमेश गुरुङले गरेका थिए ।