इलाम– आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेतालाई आज (शुक्रबार) देखि इलाममा खटाउँदैछ । जिल्लाका १० पालिकामध्ये छ वटामा रास्वपाले आफ्ना छ सांसदलाई जिम्मेवारी दिएर पठाउन लागेको हो ।
यसरी खटिएका सांसदले आफूले पाएको जिम्मेवारीअनुसार पालिकामा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्नेछन् । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र २ मा खटाइएको छ ।
सोबिता गौतमलाई जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका, मनिष झालाई माई नगरपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ ।
संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।