इलाम। साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो । खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।
निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् । इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेलियाे ।पेनाल्टी सुटआउटमा अमृता जैशी चुकेपछि नेपालले उपाधि जोर्डनलाई सुम्पिन पुगेको हो ।
पहिलो हाफमा जोर्डनविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा लय बिगारेको थियो । मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपाल पेनाल्टी सुटआउटमा चुक्न पुगेको हो ।
समूह चरण र सेमिफाइनलमा शानदार प्रर्दशन गरेको नेपालले फाइनल समेत सोही लयलाई निरन्तरता दिएको थियो । तर पेनाल्टी सुटआउटमा नेपाललाई भाग्यले साथ दिएन ।