Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइजोगमाईका पर्यटकीय सडक सहज बनाइँदै

माइजोगमाईका पर्यटकीय सडक सहज बनाइँदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १७ २०८०


माइजोगमाईका पर्यटकीय सडक सहज बनाइँदै

इलाम– इलामको माइजोगमाई गाउँपालिका पर्यटकीयस्थलले भरिभराउ छ । पछिल्लो समय गाउँपालिकाको केन्द्रबाट उच्च पहाडी क्षेत्रका पर्यटकीयस्थलसम्म सडक सुविधा सहज हुँदैगएपछि पर्यटकको संख्या पनि बाक्लिएको छ ।
समुद्री सतहबाट करिब तीन हजार एक सय मिटर उचाईसम्मका लेकाली क्षेत्र पुग्न यसअघि सडक समस्या थियो । हिउँदमा जसोतसो सवारीका साधन केहीमाथिसम्म पुगेपनि बर्खामा यातायात ठप्पप्रायः हुन्थ्यो । तर, नयाँबजारबाट पर्यटकीय थुम्केरानी, जौबारी, तुम्लिङ हुँदै मेघमासम्म पुग्ने पर्यटकीय सडक अहिले धमाधम सोलिङ हुँदैछ । लेकाली क्षेत्रमा कि ढलान, कि सोलिङ नै तत्काललाई उत्तम विकल्प हुने भएकाले गतवर्षदेखि सडकमा सोलिङ नै गरिरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले विभिन्न स्रोत जुटाएर पर्यटकीय क्षेत्र पुग्ने सडकमा बाह्रैमास सवारीका साधन चल्नसक्ने बनाउन प्रयास गरिरहेको बताए । ‘गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब १६ किलोमिटरको यो सडकले माइजोगमाई र सन्दकपुर गाउँपालिकाका महत्वपूर्ण पर्यटकीयस्थल छुन्छ,’ उनले भने, ‘गतवर्ष पनि यो सडक मर्मत गरिएको थियो, अहिले थप काम गर्दैछौं ।’
गतवर्ष कोशी प्रदेश सरकारको समपूरक एक करोड बजेट यो सडकमा खर्च गरिएको थियो । ‘यो खण्डको करिब ८० प्रतिशत भागको सोलिङ गाउँपालिकाले नै गरिरहेको छ,’ अध्यक्ष थेबेले भने, ‘यो सडकले जैविक विविधतायुक्त क्षेत्र र पुरातात्विक सम्पदासमेतलाई छुन्छ ।’
गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि ‘टुरिज्म एप्स’समेत बनाउँदैछ । र, पर्यटन गुरुयोजनासमेत बनाउँदैछ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रूपमा विकास गर्न सडक सुविधालाई प्राथमिकता दिइएको उनले जनाए ।
अध्यक्ष थेबेले लेकाली र भारतीय सीमासँग जोडिएका स्थानमा रहेका नेपाली पर्यटकीयस्थलको विकासमा इलामका अन्य पालिकासँग पनि माइजोगमाईले समन्वय गर्ने बताए । ‘विशेषगरी भौगोलिक सीमा जोडिएका सन्दकपुर र सूर्योदयसहित जिल्लाका १० वटै पालिकासँग पर्यटन पूर्वाधारको विषयमा समन्वय गर्न जिल्ला समन्वय समितिलाई अनुरोध पनि गरिएको छ,’ उनले भने, ‘पर्यटन विकास कसैको एक्लो प्रयासले सम्भव हुँदैन, सबैसँग हातेमालो गर्नुपर्छ ।’
यहाँको सडकले भारतीय सीमाक्षेत्रबाट जिल्ला सदरमुकाम जोड्नसमेत सहज हुनेछ । गाउँपालिकाले यो पर्यटकीय सडकको गुणस्तरमा विशेष निगरानी गरिरहेको उपाध्यक्ष तथा अनुगमन समिति संयोजक प्रविना राईले बताइन् । ‘महत्वपूर्ण पर्यटकीय क्षेत्र जोड्ने यो सडकलाई दीर्घकालसम्म सञ्चालन हुने बनाउन विशेष रूपले अनुगमन गरिरहेका छौं,’ उनले भनिन्, ‘कतिपय कमजोरी भएका ठाउँमा गुणस्तर सुधार्न निर्देशन दिइएको छ र त्यसैअनुसार सुधार पनि हुँदैछ ।’
उपाध्यक्ष राईले भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्र भएकाले कम रकममा बाह्रैमास सवारीका साधन चल्ने सडक निर्माण र मर्मत गरिरहेको बताइन् । ‘यो सडक निर्माण भइसकेपछि सहज रूपमा हिउँद–बर्खै लेकाली क्षेत्रका पर्यटकीयस्थल पुग्ने सकिनेछ,’ उनले भनिन्, ‘अहिले पनि पर्यटक आउ–जाउ गर्न बाधा छैन तर बर्खामा चाहिँ केही समस्या थियो ।’
भारत पश्चिम बंगालका पर्यटकसमेत यही सडक भएर माइजोगमाई, सन्दकपुर, देउमाईलगायत ठाउँसम्म आउ–जाउ गरिरहेका छन् । मानेभञ्ज्याङ, सन्दकपुर, कालपोखरी, तुम्लिङ, मेघमा, टङ्लुलगायत सीमावर्ती क्षेत्रबाट बर्सेनि सयौं भारतीय पर्यटक इलामका लेकाली गाउँमा आउ–जाउ गर्छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार