फिक्कल । इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा इलामको जीतसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा इलाम नगरपालिकाले माङसेबुङ गाउँपालिकालाई हराएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।
इलामको जितमा मनिषा थापा मगरले निर्णायक गोल गरिन् । खेलको १० औ मिनेटमा माङसेबुङकी डिफेन्डरले क्लियर गर्ने क्रममा डिबक्स बाहिर पाएको अवसरलाई मगरले जाली चुमाउँदै इलामलाई सेमीफाइनल प्रवेश गरिन् । खेलको वुमन अफ दि म्याच इलामकी डिफेन्डर सजनी थोकर घोषित भइन् ।
उनले नगद ३ हजार प्राप्त गरिन् । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकासंग प्रतिस्पर्धा गर्नेछन् । माईजोगमाईले फाकफोकथुम गाउँपालिकालाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो ।
सूर्योदयले रोङ गाउँपालिकालाई हराएको थियो । माईभ्याली फुटबल क्लबको आयोजनामा ठुलो टुडिखेलमा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।