इलाम । कोशि प्रदेशको प्रमुख पर्यटकीय स्थल सन्दकपुर गाउँपालिकामा रेडपाण्डा प्रजनन केन्द्र साथै रेडपाण्डा पार्क निर्माणका लागि ९ सदस्य निर्माण समिति गठन भएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सनम राईको अध्यक्षतामा र सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको आम भेलाले ९ सदस्य निर्माण समिति गठन गरेको हो । भेलाले अध्यक्ष धन बहादुर राई, उपाध्यक्ष तेज बहादुर गुरुङ, सचिव रिता राई, सहसचिवमा युवराज पौडेल र सदस्यहरुमा जीवन सिवा, ठाकुर राई, लिला बहादुर राई, सुनिता राई र रेखा राई चयन गरेको हो ।

प्रदेश सरकारबाट विनियोजन भएको बजेट कार्यान्वयनका लागि रेडपाण्डा प्रजनन, विकास तथा संरक्षण केन्द्रको निर्माण समिति गठन गरेको हो । आमभेलामा सामुदायिक वन, स्थानीय वासी, पर्यटन व्यावसायी र उच्च पहाडी जडिबुटी संस्थाका प्रतिनधिहरुको उपस्थिति रहेको थियो । रेडपाण्डा प्रजनन्, तथा संरक्षण केन्द्र निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । डिभिजन वन कार्यालय र सन्दकपुर गाउँपालिकाको समन्वयमा कार्यान्वयन हुने बजेटबाट प्रजनन् केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माण हुनेछन् ।
सन्दकपुर गाउँपालिका १ र २ को सीमा क्षेत्र टप्पुमा रहेको प्रजनन् केन्द्रको कोशी प्रदेशका पर्यटन वन वातावरण मन्त्री गणेश उप्रेती (शुसिल)ले स्थलगत अध्ययन गरेका थियो । अध्ययनका क्रममा उनले अहिले विनियोजन भएको बजेट चाँडै कार्यान्वयन भएमा थप बजेटको पनि व्यवस्था गर्न सकिने बताए ।

