इलाम (फाकफोकथुम) । इलामको फाकफोकथुम ३ आमचोकमा सन्तकवि ज्ञानदिल दासको प्रतिमा अनावरण र प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ इलामको फाकफोकथुममा सम्पन्न भएको छ । ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक‘’को पहिचानसहित उहाँले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलनमा नेपाल, भारतका साहित्यकार, कवि र उनका अयुयायीहरुको उपस्थिति रहेको छ ।
ज्ञानदिलदास सहित्य सम्मेलन आयोजक मूल समारोह समितिका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भारतको दार्जिलिङ र सिक्किमबाट साहित्यकार, कविहरुको उपस्थिति रहेको छ । सम्मेलनमा वक्ताहरुले ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक कार्यक्षमताको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको तथ्याङ्क तयार गरी सत्य इतिहास स्थापित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा उद्घाटनको अवसरमा भारतका प्रवाषी नेपाली साहित्यकार, लेखक समालोचक डा गोकुल सिन्हा, भारत सिक्किमका प्राध्यापक डा सुमन ढकाल, गुरु ज्ञानदिल धाम मन्दिर प्रवद्र्धन समिति सिक्किमका अध्यक्ष गोविन्द सर्मा, केचना कंचनजंघा पर्यटन विकास समिति इलामका कार्याकारी निर्देशक केशवकुमार द्यौराली, लामिछाने बन्धु समाज केन्द्रिय उपाध्यक्ष सनकराज लामिछाने, तेह्रथुम क्याम्पसका प्रमुख पोष्टराज लामिछाने लगायतले सन्त ज्ञानदिलदासका समाजसुधारका कामहरुको लिपिवद्ध गर्नुपर्नेमा जोड दिएका थिए ।
साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमि र ध्यान बसेको गुफा क्षेत्रको भ्रमण गरिएको थियो । ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएकाले त्यसलाई अझ प्रचारप्रसारका काम साहित्यिक सम्मेलनले सहयोग पुगेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । सम्मेलनमा ज्ञान दिलदासका बारेमा प्रकाश परियार, डा देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि नेपाल र भारतका विभिन्न साहित्यकारहरुले टिप्पणि गरेका थिए । सम्मेलनमा साहित्यका बारेमा पनि बहस भएको थियो । बहसमा प्रकाश थाम्सुहाङ, अन्वेस थुलुङ, बालिका थपलियाले बहस गरेका थिए । समापन कार्यक्रममा २० जना कवि र कवयत्रिहरुले आफ्नो कविता प्रस्तुत गरेका थिए ।

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम–३ आमचोक जोरधारमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उनी पाँचथर नाँगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्वान थिए । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूवार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए ।
सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ र हाल गेलिङधामले प्रसिद्ध छ । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्यथलोको रुपमा लिएर धर्म प्रचार समेत गरेको पाइन्छ । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि स १९४० कात्तिक २५ भएको थियो ।


