Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक सम्मेलन आजबाट

फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक सम्मेलन आजबाट

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन ११ २०८०


फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक सम्मेलन आजबाट

फाकफोकथुम (इलाम) । इलामको फाकफोकथुम ३ आमचोकमा सन्तकवि ज्ञानदिल दासको प्रतिमा अनावरण र प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ आजबाट हुँदैछ । फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा फागुन ११ र १२ गते हुने सम्मेलनका कार्यक्रम बिहान ७ बजेदेखि रहेका छन् । ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक‘’को पहिचानसहित उहाँले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वबारे अन्तरक्रिया गरी अभिलेख गरिने फाकफोकथुम अध्यक्ष खानालले जानकारी दिए ।
सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको तथ्याङ्क तयार गरी सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालले बताए । ‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भ्रमण पनि गराउँछौं, यसले गर्दा उहाँको वास्तविक जन्मभूमिको पहिचान समेत हुनेछ’, अध्यक्ष खनालले भने, ‘ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएको छ, त्यो तथ्यलाई हामी सत्यमा परिणत गर्नेछौं ।’
सम्मेलनको पहिलो दिन आज ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिल दासको सालिक अनावरण र ज्ञानदिल दासबारे भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले संकलन गरेको पुस्तक सार्वजनिक हुने प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेले जानकारी दिए ।
त्यस्तै, दोस्रो दिन ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वको बारेमा प्रकाश परियारले कार्यपत्र पस्तुत गर्नेछन् । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पाणीसहित प्राज्ञिक बहस र छलफल गर्ने कार्यक्रम रहेको छ ।

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम–३ आमचोक जोरधारमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उनी पाँचथर नाँगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्वान थिए ।

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूवार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ र हाल गेलिङधामले प्रसिद्ध छ । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्यथलोको रुपमा लिएर धर्म प्रचार समेत गरेको पाइन्छ । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार