इलाम। १४औं राष्ट्रपति रनिङ सिल्ड जिल्लास्तरीय प्रतियोगिताको सबै तयारी पूरा भएको छ । शुक्रबारबाट सुरु भइ १४ फागुनमा सकिने प्रतियोगिता इलाम सदरमुकामबाहिर माङ्सेबुङ गाउँपालिकामा हुुँदैछ ।
माङ्सेबुङ गाउँपालिका–२ स्थित डोलटार खेलमैदानलाई प्रतियोगिताका लागि तयार पारिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलमैदान रेखांकन गरिएको छ । प्रतियोगिताको व्यवस्थापन माङ्सेबुङ गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थलगत निरीक्षण गरी प्रतियोगिताको व्यवस्थापनबारे जानकारी लिएका छन् ।
प्रतियोगितामा छात्र र छात्राका बेग्लाबेग्लै प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सल आर्टका ३० खेल हुने समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए । एथलेटिक्समा दौड ट्र्याक र उफ्रने–फ्याँक्ने फिल्ड प्रतियोगिता हुनेछ । मार्सल आर्टतर्फ तेक्वान्दो, उसु र कराते प्रतियोगिता हुनेछ । माङ्सेबुङ गाउँपालिकाले व्यवस्थापन गर्ने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहनेछ । जिल्लास्तरीय प्रतियोगितामा यसपटक पालिकालाई नै विजेता र उपविजेता घोषणा गरिने छ ।
विजयी पालिकालाई सिल्ड प्रदान गरिनेछ भने उपविजेतालाई ट्रफी दिइनेछ । मार्सल आर्ट र एथलेटिक्सका खेलाडीलाई ट्रफी प्रदान गरिने उनले बताए ।
‘संघीयताको मर्मअनुसार खेलकुदलाई पनि पालिका तहसम्म फैलाउन समितिले जिल्लास्तरको प्रतियोगिता नै गाउँ–गाउँ लैजाँदैछ,’ अध्यक्ष बाँस्तोलाले भने, ‘आउँदो वर्ष यो प्रतियोगिता आयोजना गर्ने पालिकाको पनि करिब टुंगो लागिसकेको छ ।’ प्रतियोगिता सञ्चालन गर्न माङ्सेबुङमा सबैखाले तयारी सकिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
जिल्लाभरका खेलाडी र अतिथि व्यवस्थापन गर्न होटल, बास, खानेकुरा व्यवस्थापन भइरहेको छ । समिति कार्यालय प्रमुख नारायण भट्टराईका अनुुसार प्रतियोगितामा भेला हुने करिब एक हजार दुई सय जनाका लागि स्थानीय चिसोपानीपञ्चमी र रक्से बजारमा बसोबास व्यवस्था मिलाइएको छ ।