Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कार्यसम्पादनमा नगरपालिकामा सूर्योदय र गाउँपालिकामा रोङ प्रथम

कार्यसम्पादनमा नगरपालिकामा सूर्योदय र गाउँपालिकामा रोङ प्रथम

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १० २०८०


कार्यसम्पादनमा  नगरपालिकामा सूर्योदय  र गाउँपालिकामा रोङ प्रथम

इलाम । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिका कार्यसम्पादन मूल्यांकनमा इलामका स्थानीय तहमध्ये पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन नतिजामा सूर्योदय ४१।८५ अंकसहित जिल्लाको पहिलो भएको हो ।

जिल्लाको दोस्रो भएको देउमाई नगरपालिकाले ३८।९ अंक ल्याएको छ । नजिताअनुसार रोङ गाउँपालिका ३८।३६ अंकसहित तेस्रो र जिल्लाका गाउँपालिकामध्ये पहिलो भएको छ । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका ३७।५९ अंकसहित चौथो भएको छ भने ३४।१७ अंकसहित सन्दकपुर गाउँपालिका पाँचौं भएको छ । माइजोगमाई गाउँपालिका ३३।७८ अंक ल्याएर छैटौं हुँदा ३३।४२ अंक ल्याएको माङ्सेबुङ गाउँपालिका सातौं स्थानमा छ ।

चुलाचुली गाउँपालिका ३१।८६, फाकफोकथुम गाउँपालिका ३०।९४ र माई नगरपालिका २८।३ अंकसहित क्रमसः आठौं, नवौं र १०औं भएका छन् ।

केही महिनाअघि सार्वजनिक तथ्यांकअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा पनि सूर्योदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको उत्कृष्ट भएको थियो । आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा विभिन्न १६ सूचकलाई आधार बनाएको थियो ।

स्थानीय तहले २०८० असार १० भित्र आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेस गरे र नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले त्यही आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभावाट २०७९ असार मसान्तभित्र पारित गरे र नगरेको, स्थानीय तहले आव २०८१ र ८२ को आय–व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे र नगरेको सूचक राखेको थियो ।

यस्तै, स्थानीय तहले आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, स्थानीय तहको आव २०७९र८० को विनियोजित रकमअनुसार खर्चको अवस्था, त्यही आवको लेखापरीक्षणबाट औंल्याएको बेरुजुको अवस्था र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेरनगरेको पनि मूल्यांकन गरिएको छ ।

यसैगरी, स्थानीय तहले आवधिक योजना तर्जुमा गरेरनगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, त्यही शैक्षिक सत्रमा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक १।६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत पनि मूल्यांकन गरेको थियो ।

आर्थिक वर्ष २०७९र८० मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपात यसका मापदण्ड थिए ।

देशभरका सात सय ५३ स्थानीय तहमध्येमा चाहिँ अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ६१।८१ अंकसहित पहिलो भएको छ । गुल्मीको मालिका गाउँपालिका ५५।४० अंक प्राप्त गरी देशभरका गाउँपालिकामध्ये पहिलो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार