Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामका कुराउनी उद्योग संकटमा (तस्बिरहरु)

इलामका कुराउनी उद्योग संकटमा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • आइतबार, फाल्गुन ६ २०८०


इलामका कुराउनी उद्योग संकटमा (तस्बिरहरु)

इलाम ।  दूध फटाएर कुराउनी उत्पादन गर्ने उद्योग संकटमा परेका छन् । तराई र पहाडी जिल्लाका मिठाई उद्योगहरुमा कुराउनी आपूर्ती गर्ने उद्योगमा कुराउनीको माग घटेपछि उद्योगी संकटमा परेका छन् । इलाम नगरपालिका १ निवासी सन्ध्या राईको उद्योगमा अहिले कुराउनी उत्पादन बन्द छ । इलाम र झापाका बजारमा बिक्रि हुने कुराउनीको माग ४ महिनादेखि हुन छोडेपछि सन्ध्या राईले कुराउनी बनाउन छोडेकी हुन् । कुराउनीको माग हुन छोडेपछि उद्योगमा अहिले घिउ र छुर्पी उत्पादन हुदै आएको छ ।


इलाम नगरपालिका ४ को पुवाखोलामा ९ वर्षदेखि कुराउनी उत्पादन गर्ने अनुप राईको उद्योग संकटमा परेको छ । दैनिक ९ सय लिटर दूध प्रशोधन हुँदै आएको उद्योगमा अहिले कुराउनीको माग ८० प्रतिशतले घटेको हो । कुराउनीको माग घटेपछि अनुप राईको उद्योगमा दैनिक ३ सय लिटर मात्रै दूध प्रशोधन हुँदै आएको छ ।


तरल दूधलाई ठोस बनाएर उद्यमीले मिठाई उत्पादन गर्ने उद्योगमा बिक्रि गर्दै आएपनि अहिले माग घटेपछि कुराउनी उद्योग संकटमा परेका हुन् । गाउँमा संकलित दूध फटाएर कुराउने बनाउने उद्योगमा अहिले दूध संकलन पनि घटेको छ । कुराउनी बिक्रि नहुँदा दूधको मुल्य नियमित भुक्तानी दिन उद्यमीले सकेका छैनन् ।


इलाम नगरपालिकाको १, २ र ३ मा दूध फटाएर कुराउनी बनाउने उद्योगहरु संचालन हुँदै आएका छन् । तर बजारमा माग राम्रो नहुँदा उत्पादनको भएको कुराउनी उद्योगमा थन्किएको छ । तरल दूधलाई ठोसमा परिणत गरेर विविधीकरण गरि ललिपप, पुष्टकारी र मिठाइ बनाउने उद्योगमा बिक्रि हुँदै आएको थियो ।


दूधका उत्पादनको विविधीकरण गरेर कुराउनी बनाउने उद्योग इलाम, माई, सुर्योदय नगरपालिकामा संचालनमा रहेका छन् । कुराउनी बनाउने एक उद्योगमा ५ सय देखि १ हजार लिटरसम्म गाईको दूध प्रशोधन हुँदै आएपनि अहिले ८० प्रतिशतले घटेको छ । ललिपप, पेडा, पुष्टकारी, बम्बइसन र मिठाईका परिकार बनाउन कुराउनी प्रयोग गरिन्छ । दुध फटाएर बनाएको कुराउनी प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्रि हुन पनि मुस्किल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार