फाकफोकथुम (इलाम) । निर्गुण भक्ति धाराका केन्द्रीय कवि ज्ञानदिलदासको जन्मस्थाल इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास साहित्यिक सम्मेलन हुने भएको छ । साहित्यिक सम्मेलनका लागि गुरुभक्त लामिछानेको अध्यक्षतामा ११ सदस्य ज्ञानदिलदास साहित्यिक सम्मेलन आयोजक समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा अर्जुन योङ्हाङ्ग, सचिवमा विकास राई, सह सचिवमा उद्धव लामिछाने, कोषाध्यक्षमा चनमाया मगर, सदस्यहरुमा लिला लिम्बु, युद्धबहादुर बोहोरा, राजकुमार राई, प्रकाश अधिकारी रहेको सल्लाहाकारमा प्रकाश परियारले बताए । ज्ञानदिलदास साहित्यिक सम्मेलनका बारेमा आयोजक समितिका पदाधिकारी, गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र संचारकर्मीबिच अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा ज्ञानदिलदास साहित्यिक सम्मेलन फागुन ११ र १२ गते हुने गाउँपालिका अध्यक्ष खनालले जानकारी दिए । सम्मेलनको प्रथम दिन ११ गते ज्ञानदिलदासको सालिक अनावरण गर्ने योजना छ । फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा आयोजना हुने साहित्यीक महोत्सवको उद्घाटनका अवसरमा ज्ञानदिलदासको सालिक अनावरण, नेपाल, भारतका जसमनी धर्मका अनुयायीहरुबाट सुभकामना आदनप्रदान, भारत सिक्किमका लेखक विरभद्र कार्कि डोलीको सन्त ज्ञानदिलदास अध्ययन ग्रन्थको विमोचन गर्ने कार्यक्रम रहेको समितिका सल्लाहाकार प्रकाश परियारले बताए ।
उद्घाटनको दिन साँझ सास्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । साहित्यिक सम्मेलनको दोस्रो दिन नेपाल, भारतका साहित्यकार, जसमनी धर्मका अनुयायीहरुलाई सन्त ज्ञान दिलदासको जन्मस्थान, ध्यान गरेको ठाउँमा भ्रमण गराउने योजना रहेको छ । दोस्रो दिन ज्ञानदिलदासको जीवनी बारे छलफल पत्र प्रकाश परियार र डा देवी क्षेत्री दुलालले ज्ञान दिलदासका बहुआयामिक क्षेत्रका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
छलफल पत्र र कार्यपत्र माथि नेपाल र भारतका लेखक, साहित्यकारहरुले आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।