इलाम । लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका सुन्तालाका बगान धमाधम मर्न थालेपछि इलामका किसान चिन्तामा परेका छन् । सरकारले प्राविधिक सेवा पुर्याउन नसक्दा भाइरस र ढुसीजन्य रोगको आक्रमणले अरुबेला लहलह देखिने सुन्तलाका बोटहरुको किसानले अहिले दाउरा काट्दै आएका छन् ।
रोग निन्त्रणका लागि सरकारी क्षेत्रबाट पर्याप्त मात्रामा बजेट तथा प्राविधिक सेवा नदिँदा पकेट क्षेत्र घोषणा गरिएका सुन्तलाका बगान अहिले पुरै दाउरा काट्न जंगलमा परिणत भएका हुन् । सोयाक ४ की सुसम फागोको आम्दानीको श्रोत सुन्तलाको बगानसँगै सुकेको छ । बार्षिक २ लाख आम्दानी गर्ने सुसमलाई सुन्तलाको बगान सुकेपछि घरखर्च चलाउनै समस्या छ ।
‘२ लाख रुपैयाँमा बिक्रि भएको सुन्तालको बगानमा पहिले पात पंहेलिने रोग लागेर बोट पुरै मर्यो सुसम भन्छिन्, रोग लागेपछि उपचारका लागि धेरै खर्च गरेपनि पुरै सुन्तला बगानमा आगो पर्दा डढेलो लाग्ने भएको छ ।’ सुन्तलाको आम्दानीले घरखर्चसँगै बचत पनि गर्दै आएकी सुसमलाई अहिले खर्चको अभावले पिरोल्ने गरेको छ ।

उमेरले ६० काटेकी फुलमाया लिम्बुको आम्दानीको श्रोत करेसाबारीमा रोपेको सुन्तलाको बोट थियो । १ रोपनीको बगानमाबाट एक लाख नै आम्दानी गर्ने फुलमाया रोगले सुन्तलाको बोट मरेपछि बिरामी पर्दा साहुसँग ऋण माग्नुपर्छ । घरखर्चसँगै दूःखबिरामको साहार भएको सुन्तलाको आम्दानी बन्द भएपछि किसानले सुन्तलाको काटेर दाउरा बाल्दै छन् ।
रोगले सुन्तला मरेपछि सुसम र फुलमाया सँगै पकेट क्षेत्र घोषाणा गरि व्यवसायीक खेती गरेका तीन सय किसानको आम्दानी सुकेको हो । सोयाक गाविसको एक देखि ७ नम्बर वडाको तीन हजार रोपनी क्षेत्रफलमा लगाइएका सुन्तला शुरुमा पात पहिलिने र जरा कुहीने रोगले मरेका हुन् । दूई वर्ष अघिबाट शुरु भएको रोगले अहिले २० वटा बगान मात्रै सध्ये छन् ।
बचेका सुन्तला बगानमा पनि पुरै रोगको आक्रमण हुँदै आएको छ । बार्षिक एक करोड भित्रने सोयाक गाविसमा बगान सखाप भएपछि यस वर्षको सजिनमा ५ लाख मात्रै किसानको हातमा पुगेको स्थानीय युवराज घोर्साईले बताए । भाइरस र ढुसीबाट रोग लाग्ने भएकाले नियन्त्रणका लागि किसानलाई सेचतना कार्यक्रम गरेपनि बजेटले अभावले सबै क्षेत्रमा पुग्न नसकेको कृषि विकास कार्यालय इलामका सुचना अधिकारी प्रकासमणि काफ्ले बताउँछन् ।
सयौँ रोपनी क्षेत्रमा सुन्तलाको खेती हुँदै आएपनि बार्षिक १० हेक्टर क्षेत्रफलको मात्रै रोग किरा नियन्त्रण गर्ने कार्यक्रम हुने भएकाले सबै किसानका घरमा पुग्न नसकेको काफ्लेको भनाइ छ । बजेट भएमा किसानका घरमा पुगे सेवा दिन समस्या छैन,उनी भन्छन् सुन्तला जातका फलफुलमा रोगको आक्रमण बढेकाले धोरै बजेटले सबै स्थानमा पुगेर सेवा दिन नसकिएको हो । रोगले आक्रमण बढ्दै गएपछि रोग नहुँदा देखिनै किसान सचेत हुनुपर्ने कृषि प्राविधिकको भनाइ छ ।
किसानले एक बगानबाट सुन्तला बिक्रिबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्, काफ्ले भन्छन्, आम्दानीको १० प्रतिशतसम्म बगानको व्यवस्थापन र रोग किरा नियन्त्रणमा खर्चेमा अहिलेको जस्तो विकराल समस्या आउने थिएन । उनी अब सुन्तलाका बगान स्थापना गर्ने किसानलाई आम्दानीको केही प्रतिशत बगान व्यवस्थापन र रोगकिरा नियन्त्रणमा छुट्याउन सुझाव दिन्छन् । ३ सय ४० हेक्टरमा सुन्तलाको खेती हुँदै आएको इलाममा बार्षिक ३ हजार ५ सय २३ मेट्रीक उत्पादन छ ।