इलाम । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले इलामको शान्ति–सुरक्षा चुस्त बनाउन मातहत प्रहरीलाई निर्देशन दिएका छन् । भर्खरै प्रदेशमा प्रहरी प्रमुखका रूपमा आएका उनले जिल्ला भ्रमणक्रममा बिहीबार इलाममा यस्तो निर्देशन दिएका हुन् ।
‘जिल्लाको मुख्य समस्या के छ, त्यसमा ध्यान दिन मातहत प्रहरीलाई मेरो निर्देशन छ,’ उनले भने, ‘तर, कुनै पनि समस्या प्रहरीमात्रैको प्रयासले समाधान हुँदैन, सिंगो जिल्लाबासीले प्रहरीलाई सघाउनुपर्छ ।’ उनले इलाममा लागुऔषध, आत्महत्या र साइबर अपराध मुख्य समस्याका रूपमा देखिएको बताए । ‘यी समस्या कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा प्रहरी चिन्तित छ,’ उनले भने, ‘सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं, चासो गरौं, समाधान गर्न सकिन्छ ।’
डिआइजी खापुङले मोबाइल र सामाजिक सञ्जालमार्फत् ठगी हुनेगरेको भन्दै सचेत रहन सबैमा आग्रह पनि गरे । मोबाइलमार्फत् प्रेम सम्बन्ध राख्ने, बिहे गर्ने, पैसा लेनदेन गर्नेजस्ता घटना हुने र पछि गएर अपराधमा बदलिनेगरेको उनको भनाइ छ ।
यी घटना नियन्त्रणका लागि प्रहरीले कानुनअनुसार कारबाही गर्नेगरेको र न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसमेत समुदाय र विद्यालयमा सञ्चालन गरिरहेको उनको भनाइ छ ।
जिल्लाका सरोकारवालासँगको भेटघाटमा जिल्लाबासीले डिआइजी खापुङलाई विभिन्न समस्याबारे जानकारी गराएका थिए । नेकपा ९एमाले० जिल्ला उपाध्यक्ष उदयबहादुर राईले भारतीय सीमा क्षेत्रमा भारतीय पक्षबाट बेला–बेला विभिन्नखाले ज्यादती हुनेगरेको बताए । ‘भारतपट्टिको सीमामा दशगजामै सुरक्षा पोस्ट र संरचना निर्माण गर्दा पनि हामी केही भन्न सकेका छैनौं,’ उनले भने, ‘सीमा समस्या समाधान नहुँदा जिल्लाबासीले लामो समयदेखि सास्ती खेप्नुपरिरहेको छ, प्रहरीले समाधानमा पहल गरोस् ।’
नेपाली काग्रेस जिल्ला उपसभापति खगेन्द्र देवानले इलामको पूर्वमा सीमा समस्यादेखि दक्षिणमा वन तस्करी र पश्चिममा अपराधका विभिन्न घटना हुनेगरेको बताए । ‘आत्महत्या र लागुऔषध दुव्र्यसनीको समस्या पनि गम्भीर छ,’ उनले भने, ‘प्रहरीले यी समस्या समाधानमा ठोस कदम चाल्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विजयले जिल्लाका धेरैखाले समस्यामा प्रहरीले गम्भीर रूपमा अनुसन्धान र समाधान गर्न लाग्नुपर्ने सुझाए ।
नेपाल पत्रकार महासंघ, इलाम शाखा सचिव भीम चापागाईंले जिल्लाका विशेषगरी सहरी क्षेत्रमा लागुऔषधको कारोबार र दुव्र्यसनको अवस्था विकराल रहेको बताए । ‘कतिपय विद्यार्थीले लागुऔषध प्रयोग गरी स्कुलको पढाइ नै छाडेका छन्, युवामात्र नभई बालबालिकासमेत लागुऔषध प्रयोग र कारोबारमा देखिन्छन्,’ उनले भने, ‘प्रहरीले यसको मिहिन ढंगले अनुसन्धान गर्न जरुरी छ ।’ उनले कतिपय लागुऔषध प्रयोगकर्ता सानातिना चोरीका घटनामा समेत संलग्न भइरहेको आशंकासमेत व्यक्त गरे ।
पत्रकार सुजन तिम्सिनाले इलाम आउने पर्यटकलाई शान्ति–सुरक्षाको प्रबन्ध राम्रो गर्न सुझाए । उनले प्रहरी भवन र उनीहरूका आधारभूत संरचना व्यवस्थित गर्न पनि आग्रह गरे । अर्का पत्रकार सुदीप श्रेष्ठले अहिले गाउँ–गाउँका विद्यालयमा समेत लागुऔषधको सञ्जाल फैलिइरहेको भन्दै त्यसको नियन्त्रणका लागि गम्भीर बन्न प्रहरीलाई आग्रह गरे ।
भूतपूर्व प्रहरीका प्रतिनिधिले आफूहरूलाई पनि प्रहरीले कुनै न कुनै सामाजिक काममा प्रयोग गर्न आग्रह गरे । ‘हामी पनि लामो समय देश र नागरिककै लागि सेवा गरेका व्यक्ति हौं,’ एक प्रतिनिधिले भने, ‘हाम्रो सक्षमतालाई पनि प्रहरीले आवश्यक ठाउँमा प्रयोग गरोस्, हामी सहयोग गर्न तयार छौं ।’



