फिक्कल । प्रथम देउमाई कप अन्तरपालिका फुटबल प्रतियोगितामा चुलाचुली गाउँपालिका सेमीफाइनल प्रवेश गरेको छ । थ्रीलर खेलमा फाकफोकथुम गाउँपालिकालाई टाइब्रेकरमा पराजित गर्दै चुलाचुलीले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा चुलाचुलीले टाइब्रेकरमा ४–२ अन्तरको जित निकालेको हो ।
खेलको अग्रता चुलाचुली लिएको थियो । १० औ मिनेटमा अनिश मगरले फ्रिकिक मार्फत गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको चुलाचुलीले दोश्रो हाफको १२ औ मिनेटमा अग्रता दोब्बर बनाउन सफल रहयो । अनमार्क रहेका आशिष लावतीले चुलाचुलीका लागि दोश्रो गोल गरे । २–० ले पछि परेको फाकफोकथमुले ५ मिनेटमा अन्तरमा खेल बराबरी गर्न सफल भयो ।
१५ औ मिनेटमा चुलाचुलीका खेलाडीको डिबक्स भित्र हेन्ड भएपछि पाएको पेनाल्टीलाई कप्तान तारा फागोले गोल गर्दै अन्तर कम गरे । १९ औ मिनेटमा निकेश श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि चुलाचुलीले जितका लागि टाइब्रेकरसम्म पुग्न प¥यो । मंगलबार तेश्रो क्वाटरफाइनल खेलमा इलाम नगरपालिकाले पाँचथरको फाल्गुनन्द गाउँपालिका र सन्दकपुर गाउँपालिकाले रोङ गाउँपालिकाको सामना गर्नेछ ।