फिक्कल । प्रथम देउमाई कपको दोश्रो दिनको खेलमा सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको आइतबारको खेलमा सन्दकपुरले माङसेबुङ गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । त्यस्तै दोश्रो खेलमा इलाम नगरपालिकाले माईजोगमाई गाउँपालिकालाई १–० ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
सन्दकपुरले टाइब्रेकरमा ५–४ गोल अन्तरको जित निकालेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । खेलको सुरुवाती अग्रता सन्दकपुरले लिएको थियो । ८ औ मिनेटमा श्याम मुर्मुले सन्दकपुरलाई अग्रता दिलाए । दोश्रो हाफको छैटौ मिनेटमा डिफेन्सको गल्तीको फाइदा उठाउँदै प्रविन राईले खेल बराबरी गरे ।
क्रसमा डिबक्स भित्र आएको पासलाई सन्दकपुरका डिफेन्डसले क्लियर गर्न नसक्दा गोलरक्षक पुजन घलेलाई विट गराउँदै राईले खेल बराबरी गरे । त्यसपछिको खेलमा गोल नभएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । दोश्रो खेलमा साङ्गे शेर्पाको निर्णायक गोलमा इलामले जित हासिल गरेको हो । दोश्रो हाफको १५ औ मिनेटमा डिबक्स बाहिर पाएको अवसरलाई शेर्पाले गोलमा परिणत गरे ।
सेमीफाइनल प्रवेशका लागि सन्दकपुरले रोङ गाउँपालिका र इलाम नगरपालिकाले पाँचथरको फाल्गुनन्द गाउँपालिकासंग प्रतिस्पर्धा गर्नेछ । मंगलबार हुने पहिलो क्वाटरफाइनल खेलमा माई नगरपालिकाले सूर्योदय नगरपालिकाको सामना गर्नेछ । माईले उद्धघाटन खेलमा घरेलु टोली देउमाई नगरपालिकालाई हराएको थियो । दोश्रो क्वाटरफाइनल खेलमा मंगलबार नै फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।