Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तह र संघ अन्तरगतका कर्मचारीमा बिभेद छैनः अध्यक्ष कोइराला

स्थानीय तह र संघ अन्तरगतका कर्मचारीमा बिभेद छैनः अध्यक्ष कोइराला

  • बिमल दहाल
  • शनिबार, माघ २० २०८०


स्थानीय तह र संघ अन्तरगतका कर्मचारीमा बिभेद छैनः अध्यक्ष कोइराला

इलाम । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले स्थानीय तह र संघ अन्तरगतका कर्मचारीमा कुनै बिभेद नरहने बताएका छन् । उनले लोकसेवाबाट आएका कर्मचारी र अन्य प्रकृयाबाट आएका कर्मचारी सबै निजामती कर्मचारी भएकाले सबै समान रहने बताए । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति इलाम र राष्ट्र सेवक साकोस इलामको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन माईनगर समिति इलामको समन्वयमा सम्पन्न ‘कर्मचारी भेटघाट तथा मैत्रीपूर्ण वनभोज कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले आगामी चैत्र भित्र निजामती कर्मचारी ऐन आउने र आगामी साउबाट लागू हुने बताए । उनले ऐन लागू भएसंगै सबै तहका कर्मचारीलाई कानूनले समान सम्बोधन गर्ने धारणा राखे ।

नेपाल निजामती कर्मचारी संगठन देशकै उत्कृष्ट संगठन भएको बताएका कोइरालाले सहिद दिवसमा मात्र दुई हजार पाँचसय जनाले रक्तदान गरेको र भुकम्प पीडितलाई राहात बितरण गर्ने कार्य गरिएको लगायतका कार्यको उदाहरण दिए । अध्यक्ष कोइरालाले स्थानीय तहमा पाँच बर्ष काम गर्ने कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा र सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउने सम्मको कानून बन्नेमा ढुक्क रहन कर्मचारीलाई आग्रह गरे । इलाम जिल्ला भरिका कर्मचारी संगठनमा आबद्ध तीन सय जना भन्दा बढी कर्मचारी सहभागी रहेको कार्यक्रममा पेशागत महाँसंघ केन्द्रिय अध्यक्ष पुन्य प्रसाद ढकालले २६ वटा संस्थामा आवद्ध ५ लाख भन्दा बढी सदस्य, श्रमिक रहेको पेशागत संघ रहेको जानकारी दिदै सबैको भरोसा रहने बताए ।

कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बू नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय उपाध्यक्ष भवानी दहाल लगायतले मन्तब्य राखेका थिए । संगठनका जिल्ला अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा सचिब बिरध्वज लिम्बूको संचालनमा सम्पन्न कार्यक्रममा सामान्य प्रशासन मन्त्रालय उपसचिव रुपनारायण खतिवडा, माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्मा, राष्ट्रिय स्वास्थ्यकर्मी महांसंघ केन्द्रिय सदस्य विमल बराल, जिल्ला अध्यक्ष रमन्ता पौड्याल, संगठनका जेबी राई, श्यामकृष्ण घिमिरे, देबेन्द्र ढकाल, पेशागत महाँसंघ इलाम अध्यक्ष वासुदेव खतिवडा, माइ नगरपालिका निवर्तमान प्रमुख दिपककुमार थेबे, उप प्रमुख बिष्णुमाया आचार्य, रजनी आचार्य लगायतको सहभागीता रहेको निजामती कर्मचारी संगठन इलाम सदस्य एवम माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिए ।

यसैबीच नेपाल निजामति कर्मचारी संगठन माई नगरपालिका नगर कार्य समिति र पेशागत महाँसंघ नेपाल माई नगरपालिकाको आयोजनामा केन्द्रिय पदाधिकारीलाई स्वागत कार्यक्रम माई नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
महासंघ माईका अध्यक्ष बिभिषण शेर्माको अध्यक्षता र संगठनका जिल्ला सदस्य पुष्कर कट्टेलको सञ्चालनमा अतिथिहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा पेशागत महासंघका केन्द्रिय अध्यक्ष शनिबार नै संगठनका केन्द्रिय अध्यक्ष पुन्य प्रसाद ढकाल, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, माई नगरपालिका प्रमुख खम्वा सिंह लिम्बू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार