सूर्योदय । सूर्योदय नगरपालिकामा स्थानीय तहको अधिकारको चरम दुरुपयोग हुन थालेको छ । संविधानमा तीन तहको सरकारको परिकल्पना गरिएसँगै स्थानीय तह सबैभन्दा तल्लो सेवाग्राही संरचना हो । संविधानमा तीन तहका सरकारको एकल अधिकार अधिकार छन् । संविधानमा संघ संरकार, स्थानीय तह, प्रदेश सरकार र स्थानीय तह बिचका संयुक्त अधिकार रहेका छन् ।
संघ र प्रदेश सरकारले अधिकार नदिएको गुनासो गर्दै आएको सूर्योदय नगरपालिकाको नेतृत्व कर्मचारीको निधनमा सम्पूर्ण नगरपालिकाको सेवामात्रै बन्द गरेको छैन, स्वास्थ्य संस्थापनि ठप्प भए । सूर्योदय नगरपालिका प्रमुख प्रशासनिक केन्द्रमा कार्यरत सव–इञ्जिनियर डिल्लि सुवेदीको निधनमा नगरपालिकाले प्रमुख प्रसासनिक केन्द्र, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्था बन्द गरेको हो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले २०८० माघ १७ गतेको निर्णय भन्दै माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय भएको सुचना प्रकाशन गरेका थिए । सूर्योदयमा स्थायी घर भइ सूर्योदय नगरपालिकाको मात्रै नभएर देशको विकास, राजनीतिक आन्दोलन, साहित्य, कला क्षेत्रमा काम गरेका व्यक्तिप्रति वास्ता नगर्ने नगरपालिकाले एक कर्मचारीको निधनमा नगरको स्वास्थ्य संस्था समेत ठप्प पारेको हो ।
२०७८ फागुन ३ मा सूर्योदय नगरपालिका–१० निवासी नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनमा मदन पुरस्कार पाएका लोकप्रिय साहित्यकार डा तारानाथ ताना शर्माको निधनमा वास्ता नगरेको नगरपालिकाले अहिले कर्मचारीको निधनमा स्वास्थ्य संस्था समेत बन्द गरेको हो । ताना शर्माको निधन हुँदा अहिलेका नगर प्रमुख रण बहादूर राईले नै नगर प्रमुख थिए ।
विद्यालयको शिक्षक, विद्यार्थी र कर्मचारीको निधनमा सोहि विद्यालयको सार्वजनिक बिदा दिने चलन रहदै आएको छ । त्यसैगरि नगरपालिकाले पनि कर्मचारीको निधनमा एक दिन शोक मनाउन कार्यरत कार्यालय बिदा दिनु स्वभाविक मानिएपनि विद्यालय र स्वास्थ्य संस्था बन्द गरिनु नौलो रहेको छ । यस कार्यले स्थानीय तहमा अधिकारको चरम दुरुपयोग भएको हो ।