Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको पाथीभरा मन्दिरमा सिसी क्यामेरा जडान

इलामको पाथीभरा मन्दिरमा सिसी क्यामेरा जडान

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १७ २०८०


इलामको पाथीभरा मन्दिरमा सिसी क्यामेरा जडान

इलाम :  इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिर परिसरमा १८ सिसिटिभी क्यामेरा जडान गरिएको छ । मन्दिरको सुरक्षाका लागि प्रवेशद्वारसहित विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको हो । प्रवेशद्वारमा भक्तजनको संख्या गणना गर्ने र मन्दिर परिसरका बाँकी १७ ठाउँमा क्यामेरा राखिएको हो ।

यसअघिको व्यवस्थापन समितिले आर्थिक अनियमिततासमेत गरेको छानबिनले देखाएको थियो । रोङ गाउँपालिकाले मन्दिरको आर्थिक पारदर्शिता र गलत कार्य नियन्त्रण गर्दै भक्तजनलाई सहज बनाउन सिसी क्यामेरा जडान गरेको हो । पाथीभरा संरक्षण तथा व्यवस्थापन समिति सचिव यगा अर्यालका अनुसार अहिले मन्दिर परिसरमा उद्योगी नवीन गटानीको सहयोगमा साढे तीन लाख रुपैयाँ लगानीमा टायल लगाइँदैछ ।

मन्दिरसम्म पुग्ने बाटो बनाउने, बिसौनी, टहरालगायत संरचना धमाधम निर्माण भइरहेका छन् । यसअघि प्रदेश सरकार, रोङ गाउँपालिका र उपभोक्ताको लागत सहभागितामा विभिन्न संरचना निर्माण भएका थिए । पाथीभरा मन्दिरमा नेपालमात्र नभई भारतका दार्जिलिङ, सिक्किम, पश्चिम बंगाललगायत स्थानबाट पनि भक्तजन आउँछन् ।

चिताएको मनोकांक्षा पूरा हुने विश्वासमा विशेषगरी मंगलबार र शनिबार यहाँ भक्तजनको भीड लाग्नेगरेको मन्दिरका मुख्य पुजारी यदुनाथ घिमिरे बताउँछन् । मन्दिरका दुई प्रवेशद्वार छन् । पूर्वतर्फको प्रवेशद्वारनजिक हाँसपोखरी र सिद्धदेवी मन्दिर पनि छन् । यो मन्दिरमा हाँस अंकित तस्बिरलगायत विभिन्न देवी–देवताका आकृति पनि देख्न सकिन्छ ।

तराईदेखि नजिकै यस्तो रमणीय धार्मिक तथा पर्यटकीय ठाउँ भएकाले बूढापाका, बिरामी तथा शारीरिक कमजोरी भएका व्यक्ति पनि ताप्लेजुङ पाथीभरा जानुको सट्टामा यहाँ आउँछन् । यहाँ पर्यटकको संख्या दिनहुँ बढ्दो रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार