Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

क्रिप्टो कारोबार गरेको आरोपमा एक युवक पक्राउ, १ अर्ब ४९ करोडको कारोबार

क्रिप्टो कारोबार गरेको आरोपमा एक युवक पक्राउ, १ अर्ब ४९ करोडको कारोबार

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १६ २०८०


क्रिप्टो कारोबार गरेको आरोपमा एक युवक पक्राउ, १ अर्ब ४९ करोडको कारोबार

इलाम । नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर साहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

साहले अनलाइन जुवासहित अवैध कामका लागि क्रिप्टो करेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने काम पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको भेट्टाएको छ। साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको पनि भेट्टिएको छ।

साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए। साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको हो।

साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको पनि कार्यालयले जनाएको छ। अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए। ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन्।

उता साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ। उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो। कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार