सुर्योदय (कन्याम) । सेयर सदस्य रहेका दुग्ध उत्पादक सहकारी संस्था क्षणिक नाफा कमाउन लागेपछि कोशी प्रदेशको उत्कृष्ट इलामको कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र बन्द भएको छ । ७ सय ७३ किसानबाट ३ हजार ५ सय लिटर दूध संकलन गरि बिक्रि गर्दै आएको इलामको सूर्योदय नगरपालिकाको कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र तीन महिनादेखि बन्द भएको हो ।
कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र २०६७ सालमा स्थापना भएको थियो । सहकारी साझेदारी व्यवसायबाट संचालित प्रशोधन केन्द्र कोशी प्रदेशकै उत्कृष्टमा रहेको थियो । तर अहिले दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र ३ महिनादेखि बन्द रहेको छ । ९ वटा सहकारी संस्थाको सह लगानीमा संचालित दुध संकलन तथा प्रशोधन केन्द्र बन्द भएपछि ३ करोड बढीको संरचना, सवारीसाधन र प्रविधिहरु कबाडीमा परिणत हुँदैछन् ।
दुग्ध व्यवसायमा आएको अस्वस्थ प्रतिस्पर्धाले संकलन तथा प्रशोधन केन्द्र बन्द भएको व्यवस्थापक रविन निरौलाले बताए ।
कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रमा ३ हजार ५ सय लिटरसम्म दूध संकलन हुन्थ्यो । सेयर सदस्य रहेका ९ वटा सहकारीमध्ये ८ वटा दुग्ध उत्पादन सहकारी संस्थाले किसानको दूध संकलन गरि केन्द्रमा बिक्रि गर्थे ।
प्रशोधन केन्द्रमा सकलन भएको दूध इटहरीको कामधेनु दूग्ध प्रशोधन उद्योग र दुग्ध विकास संस्थानमा बिक्रि हुदै आएको थियो । तर सेयर सदस्य रहेका दुग्ध सहकारी संस्थाले प्रति लिटर २ लिटरदेखि ५ लिटरसम्म दूधको मूल्य निजी डेरी उद्योगमा पाउन थालेपछि केन्द्रमा दूध संकलन हुन छाडेको थियो । दुग्ध संकलन तथा प्रशोधन केन्द्र पुनः संचालनका लागि एकता बहुउदेश्य सहकारी संस्थासँग मर्जरको फाइल नगरपालिकामा पठाइएको अध्यक्ष उदयसिंह कुलुङले बताए ।
७ सय ७३ जना किसानको दूध संकलन गरि केन्द्रले तराईका बजारमा बिक्रि गर्दै आएको थियो । संकलन केन्द्रको स्तरउन्नतीका लागि नेपाल सरकार मार्फत उन्नती परियोजनाले ६० लाख अनुदान दिएको थियो । दूध ढुवानीका लागि आफ्नै सवारीसाधन, भवन र जग्गा रहेको छ । प्रशोधन केन्द्रको सूर्योदय नगरपालिका प्रमुख रण बहादूर राईले स्थलगत अध्ययन दुई दिन अघि गरेका थिए । उनले नगरपालिकाले फागुनसम्ममा पुनः संचालनका लागि पहल गर्ने बताएको अध्यक्ष कुलुङले बताए ।