माई । चुरे कटान रोक्न रोपिएको बाँस इलामको दक्षिणि किसानको आम्दानी श्रोत भएको छ । वर्षातको बाढीबाट खेतबारी कटान रोक्न रोपिएको बाँसबाट आम्दानी हुन थालेपछि दक्षिणि इलामका किसान अघि व्यवसायीक बाँस खेतीमा लागेका छन् ।
हिउँदमा सुनसान हुने माई नगरपालिका २ को चेप्टि खोलामा वर्षातमा थामिनसक्नु बाढी हुन्छ । चेप्टि खोलाको वारिपारिको खेतीयोग्य जमिन वर्षातमा धेरै कटान भएपछि २० वर्षदेखि किसानले कटान रोक्न बाँस खेती शुरु गरे ।
खोला किनारमा रोपेको बाँसबाट कटान रोक्नमा सहयोग मात्रै पुगेको छैन अहिले किसानको आम्दानीको श्रोत भएको छ । चेप्टि खोला मात्रै हैन दक्षिणि इलामको चुरे क्षेत्रमा खहरे र खोलाबाट हुने कटान रोक्न रोपिएको मालबाँस अहिले आम्दानीको श्रोत भएको हो ।
चुरे क्षेत्रका खोला खहरेमा हिउँदमा पानी नहुने र वर्षातमा बाढी आउने हुन्छ । जसले खेतीयोग्य जमिन कटान हुँदै आएको थियो । कटान रोक्न डिभिजन वन कार्यालय, स्थानीय तह र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट बाँस रोपणमा प्रोत्साहान हुँदै आएको छ । खोला कटानका लागि रोपिएको बाँस अहिले आम्दानीको श्रोत भएको माई नगरपालिका २ का प्रेम कुमार लिम्बुले बताए ।
मालबाँस रोपण मुख्य गरि तटबन्धनका लागि हो । त्यसबाहेक बाँस बिक्रिबाट राम्रो आम्दानी हुन्छ । किसानले प्रतिघना बाँस आफै कटान गरि बिक्रि गर्दा सय रुपैयाँ लिने गरेका छन् । किसानले बाँसका डोका, नाङ्ला, ढाकी बनाएर पनि बिक्रि गरि आम्दानी गर्दै आएका हुन् । तटबन्धनसँगै बाँस बिक्रिबाट आम्दानी हुनु थालेपछि किसानले सय झाँङसम्म बास रोपण गर्दै आएको माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बुले बताए । मालबाँस खरिदका लागि इलामको चुरे क्षेत्र चुलाचुली, रोङ, माङ्सेबुङ्ग गाउँपालिका र माई नगरपालिकामा काठमाडौँ, पोखराबाट व्यवसायी आउने गरेका छन् ।