सन्दकपुर (जौबारी) । इलामको उत्तरी गाउँपालिका सन्दकपुरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई गाउँमै गएर सेवा दिएको छ । नेपाल भारत सीमा क्षेत्रका बस्तिहरुमै पुगेर गाउँपालिकाले सेवा दिन थालेको हो ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई व्यवसाय दर्ता, नविकरण, स्वास्थ्य उपचार, पशु उपचार र कृषि बिऊ बिजन वितरणसँगै परामर्स सेवा गाउँपालिकाले वडा नम्बर ५ को जौबारी बजारबाट शुरु गरेको हो ।
गाउँपालिकाबाट दिइने सेवा एकिकृत रुपमा गाउँमै शिविर संचालन गरि दिने योजना अनुसार जौबारीबाट शुरु गरिएको अध्यक्ष तुलाराम गुरुङ्गले बताए । जौबारी बजारको ङिङ्मा पयुल छ्योकुइलिङ गुम्बाको प्राङ्गणमा संचालन भएको घुम्ति शिविरमा व्यवसाय दर्ता ८ वटा भएका छन् ।
शिविरमा सन्दकपुर ५ को प्राथमिक स्वास्थ्य चौकी जमुनाका स्वास्थ्यकर्मी भुपेन्द्र भट्टराई सहितको टोलीले स्थानीयको स्वास्थ्य जाँच गरेको थियो । शिविरमा २५ जना स्थानीयबासीले स्वास्थ्य जाँच र निशुल्क औषधि वितरण गरिएको छ । शिविरमा पशुहरुको पनि उपचार गरिएको उपाध्यक्ष हरि लुङ्गेलीले बताए । शिविरमा १ सय ५१ वटा पशुपक्षिहरुको उपचार र औषधि वितरण गरिएको थियो ।
शिविरमा १७ वटा घरपालुवा कुकुर र बिरालोलाई निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाइएको थियो । पशुपालक किसानलाई निशुल्क औषधि वितरण गरिएको हो । त्यस्तै गाउँपालिकाको कृषि शाखाबाट निशुल्क रुपमा तरकारी खेती, फलफुल खेती सम्बन्धि परामर्स सेवा र बिऊ बिजन वितरण गरिएको थियो । शिविरमा २१ जना किसानलाई लेकाली क्षेत्रमा खेती हुने तरकारी मुला, गाँजर, कोपि लगायतको बिऊ बिजन वितरण गरिएको थियो ।
गाउँपालिकको टोलीले जौबारी बजार समेत अनुगमन गरिएको थियो । सन्दकपुर गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपालको नेतृत्वमा जौबारीमा पुगेको एकिकृत घुम्ति टोलीमा राजश्व शाखा प्रमुख पवन भट्टराई, पशु सेवा शाखा प्रमुख सविन भट्टराई, कृषि शाखाका रोशन खतिवडा, गाउँपालिका कर्मचारी रमेश भट्टराई, निपेश फुयलको सहभागिता रहेको थियो ।
राजश्व परामर्श समिति सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले एकिकृत घुम्ति शिविर ग्रामीण क्षेत्रका नागरिकलाई घर गाउँमै सेवा दिने उदेश्यका साथ गरिएको बताए । घुम्ति शिविर नेपाल भारत सीमा क्षेत्रको जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, सन्दकपुर र आहाल क्षेत्रमा संचालन हुनेछ । दुई दिनसम्म संचालन हुने शिविरमा सिमा क्षेत्रका नागरिकहरुले गाउँमै सेवा पाएपछि खुशि भएका छन् । जौबारीका होमस्टे संचालक सोनाम तामाङले गाउँपालिकाको सेवा गाउँमै पाएपछि सहज भएको बताए ।