सन्दकपुर (माबु) । इलामको सन्दकपुर गाउँपालिका भित्रका सीमसार र पोखरीहरु पर्यटनहरुको आकर्षक गन्तव्य भएका छन् । लोप हुन लागेका पोखरी र सीमसार समुदायको अगुवाइमा संरक्षणको अभियानबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बनेका हुन् ।
सन्दकपुर गाँउपालिका वडा नम्बर ४ मा रहेको लालबास पोखरी अहिले लोभलाग्दो भएको छ । मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम भएपछि पर्यटकको आकर्षक गन्तव्य समेत भएको हो । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको छ ।

माबुथाम कालपोखरी पदमार्गमा पर्ने लालबास पोखरीमा चराहरु र वन्यजन्तुले आफ्नो पानीको प्यास मेटाउने क्षेत्र भएका छन् । रेडपाण्डा र चराहरुको अध्ययन गर्न आउने पर्यटकहरुका लागि पोखरी अहिले अर्को गन्तव्य भएको छ ।
सन्दकपुर ५ जमुनामा सीमखेतको संरक्षण गरि निर्माण भएको ढापपोखरी अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । समूदायले धान उत्पादन हुने खेत मासेर जलभण्डारको रुपमा पोखरी निर्माण गरेपछि आन्तरिक पर्यटक पनि पुग्न थालेका हुन् ।

लोप हुन लागेका सीमसार र पोखरीहरु संरक्षण गर्ने निति गाउँपालिकाले लिएपछि अहिले संरक्षणका काम हुँदै आएका छन् । सीमसार संरक्षण जलचर र वन्यजन्तुको लागि पनि फाइदा पुग्ने भएकाले संरक्षणको काम गरेको सन्दकपुर ४ का वडाअध्यक्ष ढाल बहादूर गुरुङले बताए ।
इलामका ६० प्रतिशत सीमसार र पोखरीहरु सन्दकपुरमा रहेका छन् । जल भण्डार वृद्धिसँगै पानीका मुहानहरूको संरक्षण गर्ने उदेश्यले सीमसार पोखरीहरू संरक्षणका काम हुँदै आएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

लेकाली क्षेत्रमा छाडा पशुहरुका कारण अतिक्रमणको चपेटामा परेका पोखरीहरु संरक्षणका गर्ने गाउँपालिकाले निति लिएको छ । पोखरी संरक्षणका काम समुदायमा आधारीत हुँदै आएका छन् । लेकाली फुल र लालीगुराँसको जंगलका बीचमा रहेका सीमसार संरक्षण भएसँगै पर्यटकहरुको आकर्षणस्थल समेत भएका हुन् । सीमसार संरक्षणको काम सन्दकपुर गाउँपालिकाको निति पहिलो स्थानीय तहको निर्वाचनपछि लिएको थियो ।












