काठमाडौँ — अनुमान र हचुवाका भरमा बजेट सिलिङ नतोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।‘सिलिङ तोक्दा अनुमान र हचुवाका भरमा नतोकौं, मन्त्रालयहरूलाई बोलाएर छलफल गरौं,उनीहरूको कुरा सुनौं,’ उनले भने, ‘यो लोकतान्त्रिक प्रक्रिया हो, कुनस्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे प्रष्ट खाका चाहिन्छ, त्यसकालागि आवश्यक तयारी गर्नुस् ।’
सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार यसमा परिमार्जन गर्नेगरि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको छलफलका क्रममा सोमबार दाहालले यस्तो बताएका हुन् । आर्थिक वर्ष २०८०र०८१ को नीति कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नेगरि दाहालले बैठक बोलाएका हुन् ।
अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पूराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेटको तयारी गर्न अर्थ र आयोगलाई प्रधानमन्त्री दाहालले निर्देशन दिए । नीति, कार्यक्रम र बजेटमा नयाँपन ल्याउन प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको बताउँदै निर्देशन र सरकारको निर्णयबमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।
फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्नेगरि राष्ट्रिय योजना आयोगले नीति, कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए ।
बैठकमा मुख्यसचिव बैकुण्ठ अर्यालले प्रस्तावित कार्यतालिका वैज्ञानिक रहेको बताउँदै सोहीअनुरूप कानुनी प्रबन्ध र व्यवहारिक गृहकार्य आवश्यक रहेको बताए । त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले प्रस्तावित कार्ययोजना कार्यान्वयनका निम्ति प्रचलित कानुनहरुमा संशोधन आवश्यक रहेको बताए ।