सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट आर्थिक वर्ष २०८०।०८१ को पहिलो चौमासिक भएका भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाईमा गाउँपालिकाबासीले प्रश्न गरेका थिए । कार्यक्रम सोमबार सन्दकपुर ३ देउराली बजार सेमिच्योङ भवनमा भएको थियो ।
सन्दकपुर गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन भएको थियो । कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँकार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रमुख प्रशासकिय अधिकृत यादव राउतले गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गरिएको थियो ।

त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गरिएको थियो। अभिमत प्रतिवेदनमा सन्दकपुरबासीले पालिमा कर्मचारी थप गर्नुपर्ने, सेवा प्रभावमा चाडो हुनुपर्ने, राजश्वको दर घट्नुपर्ने, कृषि र पशुपालन क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा लगानी गनूपर्ने, पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेका थिए । कार्यक्रममा १७ जना सन्दकपुरबासीले कृषि क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने, पूर्वाधार निर्माणको काम दिगो हुनुपर्ने, पशुपालनमा सेवा सुविधा बढाउनुपर्ने, पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने लगायतका बिषयमा प्रश्न सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, वडा अध्यक्षहरु रहर कुमार राई, सनम राई, लिल बहादूर बुर्जा, ढाल बहादूर गुरुङ्ग, यज्ञ बहादूर गुरुङ्ग र शाखाका प्रमुखहरुले सेवाग्राहीको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाइएका थिए ।
