सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी छनौटमा झापाले लगातार दोस्रो जित निकालेको छ । झापाले इलामलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा सुनसरी भने आफ्नो दोस्रो खेलमा पनि पराजित भयो ।
भोक्राहा नरसिंह स्थित डा खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा २७ ओभर खेल्दै ६४ रनमा अलआउट भयो। जवाफमा ६५ रनको सामान्य बिजयी लक्ष्य झापाले १३ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
शुक्रबार नै इटहरीस्थित जनता क्रिकेट मैदानमा भएको खेलमा उदयपुरले सुनसरीलाई ७१ रनले पराजित गरेको थियो । बिहीबार आफ्नो पहिलो खेलमा झापासँग ८७ रनले पराजित उदयपुरका दुई जना ब्याटरले सतक प्रहार गरेपछि सुनसरी लगातार दोस्रो हार ब्योहोर्न बाध्य भएको हो । यसअघि शुक्रबार भएको उद्धघाटन खेलमा सुनसरी मोरङसँग ६६ रनले पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ९० रनको उच्च स्कोर बनाएको थियो । उदयपुरका लागि सोनु अन्सारीले ८६ बलमा १ सय १९ रन जोडे । यस्तै, म्यान अफद म्याच आईश भटराईले नटआउट १ सय १२ रनको उत्कृष्ट इनिङ खेले । उनले १ सय १७ बलको सामना गरेका थिए ।
सुनसरीका लागि भुपाल लुईटेलले ४, सुभम यादवले २ र प्रकाश कार्की तथा समिर तिम्सिनाले एक एक विकेट लिए । जवाफमा २ सय ९१ रनको बिजयी लक्ष्य पछ्याएको सुनसरी ३५ दशमलव १ बलमा २ सय १९ रनमा समेटियो ।
सुनसरीलाई सम्मानजनक स्कोर बनाउन ६० बलको सामना गरेका सोनु मण्डलले सर्वाधिक ९० रन बनाए पनि हार टार्न सकेनन् । रितेश रायले ३३ र भुपाल लुईटेलले २८ रन जोडे पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ उदयपुरका तेज आचार्य, सुयोग कार्की र दिपकराज जोशीले २–२ विकेट लिए । शनिबार सुनसरी र इलाम बिच जनता क्रिकेट मैदानमा प्रतिष्पर्धा हुदा डा खालिल आजाद मैदानमा मोरङ र उदयपुरबिच खेल हुने छ ।
पुस २५ गते सम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा उत्कृष्ट २ टिमले फाइनल खेल्नेछन्।
उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरुले आगामी पुष २७ गतेदेखी काठमाण्डौ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्टिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट खेल्नेछन् ।