Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दलित माथि अपमान भएको भन्दै आपत्ति

दलित माथि अपमान भएको भन्दै आपत्ति

  • प्रयास लिम्बू
  • बिहिबार, माघ २५ २०७४


दलित माथि अपमान भएको भन्दै आपत्ति

ताप्लेजुङ । एकजना दलित व्यक्तिमाथि अपमानजन्य व्यवहार गरिएको भन्दै जिल्ला दलित सञ्जाल ताप्लेजुङले आपत्ति जनाएको छ । हालको २१ औं शताब्दीमा पनि दलित भएकै कारण छुवाछुतपूर्ण व्यवहार गरिनु र अपमानित हुनु परेकोप्रति सञ्जालले दुःख समेत व्यक्त गरेको छ ।
जिल्ला दलित सञ्जालले बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगे बस्ने सन्तबीर बराइली माथि अपमानजन्य व्यवहार भएको जनाएको छ । सेवा निवृत शिक्षक तथा दलित मुक्ति समाजका जिल्ला अध्यक्ष समेत रहनुभएका बराइली माथि दलित भएकै कारण एक शिक्षकबाट अपमानजन्य व्यवहार गरिएको जनाइएको छ ।
सञ्जालद्वारा जारी विज्ञप्तिमा सेवाबाट अबकास हुनु अघि कार्यरत रहेको विद्यालय फक्ताङ्लुङ गाउँपालिका २ को खेजेनिम प्राथमिक विद्यालयमा सेवा प्रमाणितको कागजात लिन जाने क्रममा सोही गाउँपालिका ३ स्थित लिङ्खिमको सिंवाबजारमा गत माघ २ गते बराइली माथि अपमानजन्य व्यवहार भएको उल्लेख छ । सोही गाउँपालिका १ सावादिनस्थित रविकला माध्यमिक विद्यालयका शिक्षक समेत रहेका ब्राह्मण समुदायका प्रेम निरौलाले उक्त व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्ति अनुसार सिंवाबजार छेउमा रहेको चन्द्रप्रसाद निरौलाको घरमा बराइलीले चिया किनेर पिउन लाग्दा निरौलाका छोरा प्रेमले दलितलाई दूध लगाएको चिया दिँदा अशुभ हुन्छ, अनर्थ हुन्छ भन्दै अपमानजन्य व्यवहार गरेका थिए । बौद्धिक जगत मानिने शिक्षक पेशामा रहेका व्यक्तिबाटै छुवाछुतपूर्ण व्यवहार गरिनु कानुनको ठाडो उल्लङ्घन भएको र शिक्षक पेशाको मर्यादा माथिकै धज्जी उडाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पक्रकार सम्मेलनमा बराइली स्वयम्ले पनि आपू माथि अपमानजन्य व्यवहार भएकोमा दुःख लागेको बताउनुभयो । दलित मुक्ति समाजको नेतृत्व भएर गाउँ गाउँमा सामाजिक सद्भाव र सचेतनाका आवाजहरु बोक्दै हिड्ने अभियान्ता माथि अपमानित व्यवहार हुनु सिंगो दलित समुदाय माथिको दूव्र्यवहार भएको उहाँले बताउनुभयो । आपूले व्यहोरेको जीवनकै पहिलो घटना भएको पनि उहाँले बताउनुभयो ।
यता दलित सञ्जालले दूव्र्यवहार गर्नेमाथि कडा कानुनी कारबाहीको माग गरेको छ । सञ्जालका अगुवा गङ्गाराम शङ्खरले अझै दलित माथि कुनै न कुनै रुपमा छुवाछुतपूर्ण व्यवहार गरिँदै आएको र यसखाले व्यवहार गर्ने जो केहीलाई कडाइका साथ कानुनी कारबाही हुनुपर्ने बताउनुभयो । शङ्खरले यस घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासन समक्ष माग पनि गर्नुभयो । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही नगरे सञ्जाल थप आन्दोलित हुने पनि जनाइएको छ ।
यता जिल्ला प्रहरी कार्याल ताप्लेजुङले उक्त घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । बिहीबार छुवाछुत अन्तर्गत मुद्दा दर्ता गरी आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार