लारूम्बा। इलामको माङसेबुङमा संचालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजाेक युवा क्लब पाँचथरले जितेकाे छ । माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५/५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
विजेता तिजोकले नगद तीन लाख ११ हजार एक सय ११ र उपविजेता माङसेबुङले नगद दुई लाख पाँच हजार एक सय ११ रुपैयाँसहित ट्रफि हात पायो ।
तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो । अघिल्लो संस्करणमा तिजोक छथर गाउँपालिका तेह्रथुमसँग पराजित बनेको थियो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए ।
त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदियमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुले जनही नगद पाँच/पाँच हजार प्राप्त गरे ।
विजेता र उपविजेता टिम र खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कृत गरे । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित कपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।