इलाम । भर्खरै ट्रयाक खुलेको दमक–चिसापानी–रबी सडकमा गाडी गुड्न थालेका छन् । दमकबाट इलाम हुँदै पाँचथर जोड्ने ४४ किलोमिटर सडक सञ्चालनमा आएपछि गाडी चल्न थालेका हुन् । सडकको ट्रयाक नखुल्दा उक्त भेगका बासिन्दा रतुवा खोलैखोला आवतजावत गर्थे । ‘किरात धर्मगुरुको पूजाका लागि लारुम्बा जाँदा अब खोला छिर्नुपर्दैन,’ दमक ६ का दिलकुमार लिम्बूले भने, ‘लामो समयको प्रतीक्षापछि बल्ल सडकबाट आवतजावत गर्न पाइयो ।’
ट्याक्सी धनी जोन लावतीले गाडी चलाउन पाउँदा धेरै खुसी भएको बताए । ‘बाटो नहुँदा कहिल्यै दुईरचार पैसा कमाउन सकेनौं,’ लावतीले भने, ‘खोलैखोला ट्याक्सी चलाउँदा १०र१० दिनमा गियरवेल फेर्नुपथ्र्यो । कमाएको पैसा पानी पसेर बिग्रिरहने गियरवेल फेर्दै सकिन्थ्यो ।’ अहिले सडकबाटै ट्याक्सी चलाउन पाउँदा गियरवेल फेर्ने पैसा मात्रै भए पनि बचत हुने आशा उनको छ ।
ट्याक्सी चालक राम फियाकले पनि खोलाबाट गाडी चलाउने दिन गएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘धेरै वर्षको प्रतीक्षापछि सडकबाट ट्याक्सी गुडाउन पाइयो ।’ दमक–रबी काउन्टरका कर्मचारी रोजर राईका अनुसार उक्त सडकमा दैनिक ५२ वटा यात्रुवाहक गाडी चल्छन् । ट्रयाक खुलेपछि आइतबारदेखि दमकबाट रबी र लारुम्बा जाने ७र७, पञ्चमी जाने ६, नवमीका ५ र मौवा, साराङ, दशमी, सप्तमी, आमचोक र कन्याटार ४र४ तथा ओवने जाने ३ वटा ट्याक्सी चल्न थालेका छन् ।
उक्त सडक निर्माणको काम ०५१ देखि सुरु भएको थियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले सडकबाट गाडी चल्न थालेपछि त्यस भेगका दस लाखभन्दा बढी बासिन्दा लाभान्वित भएको बताए । उनका अनुसार झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा यो सडकबाट ७० किलोमिटरले छोटो हुनेछ । दमक–रबी सडकलाई मेची राजमार्गको विकल्पको रूपमा पनि लिने गरिन्छ ।
डिभिजन सडक कार्यालयका सब इन्जिनियर विपिन ढुंगानाका अनुसार ट्रयाकसँगै सडक खण्डमा पर्ने चार वटा पुल निर्माणाधीन अवस्थामा छन् । ६ वटा बक्स कल्भर्ट र ३ वटा स्ल्याब कल्भर्ट निर्माण भइसकेका छन् । नयाँ ट्रयाकबाट गाडी चलाउँदा पुल बनिनसकेका ठाउँमा डाइभर्सनको व्यवस्था गरिएको छ ।
उनले ट्रयाक खोले पनि सडकका खाल्डाखुल्डी मिलाउने काम बाँकी नै रहेको बताए । दुई वर्षदेखि सरकारले उक्त सडकलाई पहिलो प्राथमिकतामा राखेको थियो । बहुवर्षीय योजनाअन्तर्गत राखेर सरकारले दुई वर्षदेखि वार्षिक १५ करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै आएको छ । ‘अब स्थानीयका सास्तीका दिन गए,’ ढुंगानाले भने ।