Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुन्न : झलनाथ खनाल

राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुन्न : झलनाथ खनाल

  • लोकल सन्देश
  • मंगलबार, माघ २३ २०७४


राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुन्न : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्तो ठूल्ठूला जिम्मेवारीमा एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने बताएका छन् । राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहोर्‍याउने चर्चा भइरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् ।

इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नमा जवाफ दिँदै भने ‘ठूला पदमा नदोहोर्‍याउनु नै राम्रो हुन्छ ।’ खनालले पार्टीले जिम्मा दिएमा आफू जुनसुकै जिम्मेवारीका लागि पनि तयार रहेको बताए ।

‘पार्टीले मूल्यांकन गरेर जे जिम्मा दिन्छ त्यो जिम्मा त्यो लिएर अघि बढ्ने मान्छे हुँ म, अहिले पनि मूल्यांकन गरेर यो जिम्मेवारी लिनुपर्छ भन्छ भने त्यो लिएर अघि बढ्न म तयार छु’ उनले भने । तर आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि खनालले स्पष्ट पारे । वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे । उनले विचार र संगठनात्मक समस्या समाधान गर्न दुई पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिए ।

‘पार्टी एकताको प्रक्रिया आफ्नै ढंगले अघि बढेको छ । हामी चाँडो भन्दा चाँडो एकता गर्ने कोशिसमा छौं । पार्टी एकताका लागि वैचारिक र संगठनात्मक समस्याहरु समाधान गर्ने विन्दुमा हामी छौं । चाँडै नै यी समस्याहरु समाधान हुन्छन्’ उनले भने । वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे । (अनलाइन खबर)

प्रतिक्रिया
सम्बन्धित समाचार