माङसेबुङ । निर्देश राईको गोलसंगै तिजोक युवाक्लब पाँचथर इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रस्तावित आत्मानन्द रंगशालामा भएको दोश्रोे क्वाटरफाइनल खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २–१ गोलको अन्तरमा पराजित गर्दै तिजोक पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो ।
पाँचथरको जितमा दुवै गोल निर्देश राईले गरे । धनकुटाका लागि कप्तान बुद्ध चेम्जोङले १ गोल फर्काए । सुरुवाती गोल गरेको र्लिएको धनकुटाले अग्रता जोगाउन नसक्दा क्वाटरफाइनलबाट बाहिरिएको हो । पहिलो हाफको ८ औ मिनेटमा बुद्ध चेम्जोङले सुरुवाती अग्रता दिलाए ।
२१ औ मिनेटमा निर्देश राईले खेल बराबरी गरे । दोश्रो हाफको १७ औ मिनेटमा निर्देशले व्यक्तिगत दोश्रो गोल गरेपछि पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो । ए डिभिजन लिग खेलेका ४ जना खेलाडी सहित उत्रिएको धनकुटाका खेलाडीबीच आपसी तालमेल हुन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
खेलको म्यान अफ दी म्याच विजेता टिम तिजोक पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आइतबार डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुनेछ ।