Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

ओसनको निर्णायक गोलमा माङसेबुङ सेमीफाइनल प्रवेश

ओसनको निर्णायक गोलमा माङसेबुङ सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ८ २०८०


ओसनको निर्णायक गोलमा माङसेबुङ सेमीफाइनल प्रवेश

लारुम्बा । ओसन राईले निर्णायक गोल गरेपछि इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बामा जारी १६ औ आत्मानन्द कप फुटबलमा माङसेबुङ गाउँपालिकाले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा माङसेबुङले बिवाइसी भुटानलाई १–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफको १५ औ मिनेटमा उनले गरेको गोल नै खेलको निर्णायक बन्यो । जितसंगै माङसेबुङ सेमीफाइनल प्रवेश गरेको छ । घरेलु दर्शकको मसर्थन पाएको माङसेबुङले सुरुआतदेखि नै आक्रामक खेलेको थियो । पहिलो हाफमा १ गोलले पछि परेको भुटानले दोस्रो हाफमा लयमा फर्कने कोसिस गरेपनि गोल नसक्दा क्वाटरफाइनलबाट बाहिरिएको हो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार गत संस्करणको उपविजेता तिजोक युवा क्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुनेछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औ जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार