सन्दकपुर (माईपोखरी) इलामको सन्दकपुर गाउँपालिकामा अवस्थित रामसार क्षेत्र माईपोखरीमा त्रि-धार्मिक पर्यटन उत्सव शुरु भएको छ । माईपोखरी रामसार क्षेत्रमा सुचिकृत भएको धार्मिक, पर्यटकीय गन्तव्य हो । त्रि-धार्मिक पर्यटन उत्सवको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका छन् । किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटनमा सयौँ भक्तजन र पर्यटकको उपस्थितमा माईपोखरीको परिक्रममा गरिएको थियो । रामसार क्षेत्र माईपोखरीबाट शुरु भएको धार्मिक पर्यटन उत्सवको उद्घाटनमा माईपोखरी, परिक्रमासँगै डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्राहलय,सहिद भुमि सातखाल्डे देउराली बजार हुँदै माईपोखरी पुगेर समापन भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि यस कार्यक्रमसँगै पर्यटकहरु आउने क्रम बढ्ने बताए । ऐतिहासिक धार्मिक पर्यटन उत्सवले इलामको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने गुरुङले बताए ।
धार्मिक पर्यटन उत्सवमा ९ दिन नै बसेर पोखरीमा ध्यान गर्ने, पुजा गर्ने भक्तजनहरु र धर्मगुरुहरु आउने क्रम हुने भएकाले धार्मिक महत्व बढ्ने उनले बताए । पर्यटन उत्सवको उद्घाटन सत्रमा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले माईपोखरीको पर्यटन प्रवद्र्धनका लागि इलाम नगरपालिका तयार रहेको बताए । माईपोखरीको पर्यटन पूर्वाधारका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका सँगै हिड्दै आएको थापाले बताए । इलाम नगर उप–प्रमुख बिष्णु दाहालले मेला, महोत्सव, पर्यटन उत्सवले पर्यटनको विकासका लागि सहयोग पुग्ने बताइन् । कार्यक्रममा नेपाली काग्रेसका नेता हिमालय कर्माचार्यले माईपोखरीको विकास भएमात्रै इलाम बजार चलायमान हुने बताइन् ।

इलामको सन्दकपुर पर्यटकिय हिसाबले सम्पन्न गाउँपालिका भएकाले प्रवद्र्धनका लागि सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले धार्मिक सद्भाव कायम गर्न त्रि-धार्मिक पर्यटन उत्सवले सहयोग गर्ने बताए । तराई क्षेत्रमा धर्मको नाममा उश्रङ्खल गतिविधि हुने भएकाले त्यस्ता गतिविधि रोक्न पनि त्रि-धार्मिक महोत्सवले योगदान गर्ने प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।
कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका प्रवक्ता रहर राईले सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा आयोजना भएको त्रि-धार्मिक पर्यटन उत्सवले पर्यटन प्रवद्र्धनको मुख्य लक्ष्य रहेको बताए । माईपोखरीको प्रचारप्रसार र प्रवद्र्धनका लागि सहयोग पुग्ने उनको विश्वास छ ।
कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला सह सचिव देवेन्द्र सुवेदीले सन्दकपुरका पर्यटनको प्रवद्र्धनका लागि त्रि-धार्मिक महोत्सव आयोजना गरिएको बताए । पर्यटन विकासका लागि ९ दिनसम्मको पर्यटन उत्सवले धेरै सहयोग पुर्याउने उनले बताए । कार्यक्रममा नेकपा एमालेका सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालले परापूर्व कालमा माईपोखरीको पानी ताप्लेजुङ पाथिभरा मन्दिरमा चढाउने गरेको इतिहास रहेको बताए । मेची राजमार्ग खुलेसँगै पाथिभरा जाने भक्तजनहरु सिधै जाने गरेकाले माईपोखरीको महत्व घट्दै गएको उनले बताए । कार्यक्रममा राप्रपा नेपालकी नेतृ पुण्यप्रभा भट्टराईले सबै सन्दकपुरबासीले त्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

धार्मिक पर्यटन उत्सवको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जीवन शिवाले पर्यटकीय गाउँपालिका भएकाले सबैले पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्नेमा जोड दिए । माईपोखरी सन्दकपुर पहिलो पर्यटकीय गन्तव्य भएकाले प्रवद्र्धनका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका इलाम अध्यक्ष बिप्लव भट्टराईले पर्यटन प्रवद्र्धनका लागि संचारमाध्यमले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुर गाउँपालिका अध्यक्ष रुपेन नेम्बाङले सन्दकपुरमा सबै जातजातिको सस्कृति पर्यटकको आकर्षणको केन्द्र रहेको बताए । उद्घाटन कार्यक्रममा बोल्दै डा तिलक चैतन्यले नेपाल धेरै जातजातिको बासोबास रहेको क्षेत्र भएकाले सबैले एकले अर्काको सम्मान गर्न गरि बस्नुपर्ने बताए । सबै जातजातिले एक अर्कोलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै खेन्पो फुर्तेबा सेर्पाले नेपाल शान्तिका अग्रदुत भगवात गौतम वुद्धको जन्मस्थल रहेको क्षेत्र भएकाले सबैले शान्तिका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए ।

आयोजक समितिका अध्यक्ष प्रेमनाछिरिङको अध्यक्षतामा भएको उद्घाटन सत्रको औपचारीक कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गृष्म सुब्बाले गरेका थिए भने संचालन सचिव दिनेश सुवेदी ,सह-सचिव नेत्र पराजुलीले गरेका थिए । इलामको सन्दकपुर गाउँपालिकामा अवस्थित रामसार क्षेत्र माईपोखरीमा त्रि-धार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि पर्यटकहरु आउने क्रम पनि शुरु भएको समिति प्रचार संयोजक श्याम राईले बताए ।
संचारमाध्यम, सामाजिक सञ्जाल, पत्र मार्फत नेपाल, भारत र भुटानसम्म प्रचारप्रासारको काम गरिएको राईले बताए । ९ कुनामा फैलिएको माईपोखरीको प्राकृतिक सुन्दरतामा पर्यटकहरु घण्टौसम्म घुम्न सक्नेछन् । माईपोखरीमा जैविक, धार्मिक, सास्कृतिक, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी, लोपउन्मुख गलैचे झ्याउ, सरीश्रपहरुको अध्ययन अवलोकन गर्न सकिन्छ ।