एकतप्पा । कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली फाकफोकथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जनकल्याण माविको खेलमैदानमा शुक्रबार भएको दुवै सेमिफाइनल खेलमा कोलबोटे र चुलाचुली फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा कोलबोटेले फाल्गुनन्द एफसीलाई २(० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । साविक विजेतालाई पराजित गर्न दुवै गोल शुकराज राईले गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद पुरस्कार पाउन सफल भए ।
यस्तै, अन्तिम सेमिफाइनल खेलमा चुलाचुलीले आङसराङ फाइभ स्टार एफसीविरुद्ध ३(१ गोलअन्तरले स्पष्ट जित निकालेको हो । चुलाचुलीका लागि दिवश श्रेष्ठले एक गोल गरे भने अनिल भण्डारीले २ गोल गरेका हुन् । आङसराङका लागि मदन लिम्बूले मात्र गोल गरेका थिए ।
प्रतियोगितामा १६ टोली सहभागी प्रतियोगितामा विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।