Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ को गृहमन्त्रीमा टंक आङ्बुहाङको दाबी 

प्रदेश १ को गृहमन्त्रीमा टंक आङ्बुहाङको दाबी 

  • सन्देश सम्बाददाता
  • सोमबार, माघ २२ २०७४


प्रदेश १ को गृहमन्त्रीमा टंक आङ्बुहाङको दाबी 

ताप्लेजुङ ।  ताप्लेजुङ प्रदेश नम्बर ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद टंक आङ्बुहाङ लिम्बुले प्रदेश १ मा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा दाबी गरेका छन्।

दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संंसदमा तत्कालीन नेकपा माओवादीका तर्फबाट सांसदसमेत भएका उनी नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य हुन्। अन्तरिम संसदका उनी सबैभन्दा कान्छो सांसद हुन्।

पहिलो संविधान सभा र दोस्रो संविधानसभामा ताप्लेजुङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उनी दुबैपटक पराजित भएका थिए। यसपटक भने कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भए।

माओवादीबाट १६ जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा वाम गठबन्धनबाट एमालेबाट मुख्यमन्त्री बन्दैछ।

एमालेले मुख्यमन्त्री र सभामुख पाइसकेकाले गृहलगायत महत्वपूर्ण मन्त्रालय माओवादीले पाउनुपर्ने दाबी रहेको लिम्बुले बताए। ‘प्रदेश १ मा मुख्यमन्त्री र सभामुखजस्तो प्रमुख पदमा एमालेले पाउने सहमति भइसकेको छ, त्यसैले प्रदेशको महत्वपूर्ण मन्त्रालयमा माओवादीको दाबी रहन्छ,’ उनले भने।

वाम गठबन्धनबाट एमाले र माओवादीले ७०र३० को अनुपातमा मन्त्रालय बनाउने सहमति गरिसकेको छ। यसै गरी कुनै पनि प्रदेशमा ११ जनाभन्दा बढी मन्त्री नबनाउने घोषणासमेत गठबन्धनले गरेको छ।

यस्तो अवस्था भएकाले माओवादी केन्द्रबाट ३ जना मात्र मन्त्री सहभागी हुने र पार्टी आफ्नै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको लिम्बुले बताए। ‘संसदीय दलको नेता बन्दै पार्टीको नेतृत्व गरी सरकारमा जाँदैछु,’ नेपाल क्रिकेट संघ९क्यान०का पूर्व अध्यक्षसमेत रहेका आङ्बुहाङले भने।

सरकारमा सहभागी हुनकै लागि लबिङमा व्यस्त हुनुहुन्छ होला निरु जवाफमा उनले भने, ‘मलाई लबिङको कुनै खाँचो छैन, पार्टीमा दुःख गरेकै मान्छे हुँ। २०५६ बाट पूर्णकालीन भूमिगत भएर पार्टी र देशको लागि काम गरेको छुँ। प्रदेश बनाउने स्पष्ट भिजन छ। त्यसैले पार्टीले पनि मलाई जिम्मेवारी दिन्छ भन्नेमा म ढुक्क छु।’

लिम्बुबान राज्यको इन्चार्ज भएर काम गरेकाले प्रदेश नम्बर १ का समस्याहरु पहिचान गरिसकेको उल्लेख गर्दै लिम्बुले आफू सरकारमा रहँदा विकासको मुल फुट्ने दाबी गरे। भने, ‘ताप्लेजुङको प्रदेश सांसद भए पनि म प्रदेश १ पुरै घुमेको छु। संसारकै अग्लो सगरमाथा यही छ, नेपालकै होचो केचना यही छ। पर्यटनमा प्रशस्त सम्भावना छ।’

पर्यटन क्षेत्रको विकासका लागि सुरक्षा बन्दोबस्ती गर्नुपर्ने र यसमा आफू सक्षम रहेको टंकले दाबी गरे। पर्यटन विकासका लागि सडक सञ्जाल र हवाई मार्गको विकासमा आफू लागी पर्ने उनले अठोट गरेका छन्। भन्छन्, ‘प्रदेश १ मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, त्यो हाम्रै पालामा बन्छ। ताप्लेजुङको चित्रेमा पनि पाँच वर्षभित्र विमानस्थल बन्छ। चीनसँगको नाका ओलाङचुङगोलासम्म जोडिन पनि पाँच वर्षभित्रै सडक ट्र्याक खोल्छौं। यो सबै हाम्रै पालामा हुन्छ।’

सात सप्तकोशी यही प्रदेशमा रहेकोले विद्युत विकासमा पनि आफू अघि बढ्ने प्रतिबद्धता लिम्बुले गरेका छन्। उनले विद्युतसँगै प्रदेश १ लाई शैक्षिक हब बनाउने र कृषिमा व्यापक सुधार गर्ने योजनासमेत सुनाए।

‘प्रदेश १ को मुख्य स्रोत कृषि पनि हो, यहाँ अलैची, अदुवादेखि चियाकफी खेतीसम्म छन्, कतिपय खेती परम्परागत ढंगमा चलिरहेको छ, तिनलाई सुधार गरेर आम्दानीको स्रोत बढाउने मेरो संकल्प हो, सँगै शिक्षा र स्वास्थ्यको सुविधामा पनि उत्तिकै ध्यान दिइनेछ,’ सांसद आङ्बुहाङले सुनाए। खेल क्षेत्रमा लामो समय अनुभव रहेको सुनाउँदै उनले प्रदेश १ मा खेल पर्यटनको सम्भावना पनि उत्तिकै रहेको र यसमा आफूले सक्दो ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार