सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिकामा रहेको माईपोखरीमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि माईपोखरीमा धार्मिक महाउत्सवको आयोजना हुने भएको छ । माईपोखरी पूर्वी पहाडी जिल्लाको रामसार क्षेत्रमा सुचिकृत क्षेत्र हो । आगामि हरिबोधनी एकादशीको दिनको अवसरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक महाउत्सवको आयोजना गर्न लागिएको सन्दकपुर गाउँपालिका ३ का अध्यक्ष लिल बहादूर बुर्जाले बताए ।
हरिबोधनी एकादशीको दिनको अवसरमा हिन्दु, बौद्ध र किराँतहरुको धार्मिक उत्सव आयोजना गर्न लागिएको हो । धार्मिक उत्सवका अवसरमा श्रीमद् भागवत महापुराण सप्ताहज्ञान महायज्ञको आयोजना गरिने भएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । धार्मिक पर्यटन प्रवद्र्धनका लागि माईपोखरीमा धार्मिक महाउत्सवको आयोजनाका लागि समाजसेवी प्रेम नाछिरिङ्ग राईको संयोजकत्वमा आयोजना समिति गठन भएको छ । आयोजक समितिको सह संयोजकमा गृष्म सुब्बा, सचिवमा दिनेश सुवेदी, सह सचिवमा नेत्र पराजुली, मन कुमार मुखिया, विनोद खतिवडा र कोषाध्यक्षमा निर्मला कुमारी निरौला रहेकी छन् ।
धार्मिक पर्यटन महोत्सवको आर्थिक समिति संयोजकमा नेत्र प्रसाद रिजाल, भोजन तथा खाध्य व्यवस्थापनमा लिला भट्टराई, प्रचारप्रसार संयोजकमा श्याम राई, सचिवमा सुदेवी, समन्वय समितिको संयोजकमा विप्लव भट्टराई र अथिति सत्कारको संयोजकमा सन्तोश खतिवडा चयन भएका छन् । सन्दकपुर गाउँपालिकाको कार्यालयमा भएको सन्दकपुरबासीको आम भेलाले समिति चयन गरेको हो । समितिको सदस्यमा पर्यटन प्रवद्र्धनमा सक्रिय पत्रकार सुजन तिमसिना, हिमाल डङ्गोल, जिवन सिवा लगायत एक सय जना बढी रहेका छन् ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले धार्मिक महाउत्सवको आयोजनाको औचित्य माथि प्रष्ट पारेका थिए । आम भेलामा बोल्दै महेन्द्र रत्न बहुमुखि क्याम्पसका पूर्व प्रमुख इतिहासविद् युद्धप्रसाद बैद्यले माईपोखरीको महत्वको विश्वमा नै बढ्दै गएकाले अझ प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनका माध्यमबाट इलामको अर्थतन्त्र सुधार गर्नुपर्ने बताए । उनले भने–माईपोखरीको महत्व नयाँपुस्तालाई जानकारी गराउन पनि नियमित रुपमा धार्मिक उत्सवको आयोजना गर्नुपर्ने बताए ।
आमभेलामा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले इलाम नगरपालिकाको सीमा क्षेत्रमा रहेको माईपोखरीको पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणका लागि इलाम नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । आम भेलामा बोल्दै सन्दकपुर गाउँपालिका निवर्तमान अध्यक्ष उदय राईले सन्दकपुर धार्मिक र पर्यटकीय संभावना प्रशस्त भएकाले आफुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पूर्वेली जीप तथा ट्याक्सि व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले धार्मिक र पर्यटकीय संभावना रहेको माईपोखरीलाई प्रवद्र्धन गर्न त्यहाँको महत्व र जैविक विविधतालाई सरक्षण गर्नुपर्ने बताए । आमभेलामा बोल्दै नेपाली काग्रेसका जिल्ला सह सचिव देबेन्द्र सुवेदीले कोरोना महामारीका कारण खस्किएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न धार्मिक उत्सवको आयोजना गरिएको बताए । सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले संचालन गरेको आम भेलाको कार्यक्रममा सन्दकपुर १ का अध्यक्ष रहर राई, २ अध्यक्ष सनम राई र ५ का अध्यक्ष यज्ञ गुरुङ्गको उपस्थिति रहेको थियो ।
माईपोखरीको महत्व
माईपोखरी नेपालको पहाडी क्षेत्रमा रहेको पवित्र धार्मिकस्थल र प्रथम रामसार क्षेत्र हो । शान्त वातावरण, हरियाली जंगल, अनौँकौ प्रजातिका फुलहरुसँगै सुन्दर, सफा जलाशयको दृश्यले माईपोखरी सधै चिटिक्क हुन्छ । धार्मिक र सास्कृतिक महत्वको बोकेको माईपोखरी पूर्वी नेपालको पहाडी क्षेत्रै पहिलो रामसार क्षेत्र हो । माइपोखरीमा रङ्गीबिरङ्गी माछाको लोभैलाग्दो दृश्य पाइन्छ । विश्वकै अमुल्य सम्पत्ति गलैचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ ।
घना जंगल अनि छिन छिनमा लाग्ने हुस्स कुहिरोले छोप्दा पोखरी वरिपरि लुकामारी खेलु झै लाग्छ । पोखरी वरिपरि फरक फरक मौसममा फूल्ने सुगन्धित फुल मायालुको कानमा सिउरिदिउ झैँ लाग्छ । सबै धर्मको साधनाको केन्द्र माईपोखरी सधै भक्तजनको भिड र उनीहरुको प्राथनामा हुन्छ ।
माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरिएपछि विश्वव्यापी पहिचान बनाएको थियो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । यहाँ वलिप्रथा भने निषेध छ ।
मेचीराजमार्ग बनाउनु अघि झापाबाट इलाम हुँदै ताप्लेजुङ यात्रा माइपोखरी हुँदै गरिन्थ्यो । शक्ति पिठ ताप्लेजुङको पाथिभरा दर्शन गर्न पैदेल जाने भक्तजनले माइपोखरीको जल उठाएर पाथिभरामा चढाउने प्रचलन थियो । पाथिभरामा माइपोखरीको शुद्ध जल चढाएमा मनोकाक्षा चाडै पुरा हुने विश्वास छ ।
हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ । माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न भएको किम्बदन्ति छ । यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको पाइन्छ ।
पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, शंंखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने, लोप हुने गरेको कथन छ । ठुलो जलासय भरिएको माईपोखरी ७ माई दिदिबहिनीमध्येको १ रहेको किम्बदन्ती छ । ७ माई दिदिबहिनीमध्ये ४ जना खोला भएर बगेको, १ जना अकाशमा, १ जना पतालमा भासिएको र १ जना माईपोखरी भएर बसेको कथन छ । खोला भएर बगेका माई दिदिबहिनी मध्ये, माई नदी, जोगमाई, पूवामाई र देउमाई खोला हुन् । मा को अर्थ पानी र ई अर्थ घुमाउरो भन्ने बुझिन्छ । त्यसैले पानीले भरिएको घुमाउरो ठाउँ भएकाले पोखरीको नाम माईपोखरी रहेको हो । नेपालको पहाडी क्षेत्रको सांस्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने भक्तजन र पर्यटकहरुका लागि होमस्टे संचालनमा रहेका छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपोन्मुख गलैचे झ्याउ, लोपोन्मुख उभयचर ठकठके लगायत रुख भ्यागुता ३ सय बढी प्रजातीका चराको बासस्थान रहेको अध्ययनमा अल्लेख छ ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको छ माईपोखरी । सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणीको बासस्थानले अध्ययन अनुसन्धानकर्मीको ध्यान माईपोखरीले तानेको छ । माईपोखरीको पर्यटन पूर्वाधार विकासको काम धमाधम हुँदै आएको छ । यहाँको जोरपोखरीमा डुङ्गा संचालनका लागि अहिले ठुलो ड्याम निर्माण हुँदैछ । रामसार क्षेत्रलाई त्रिधार्मिक स्थलको रुपमा विकास गर्न विस्तृत अध्ययन सम्पन्न भई निर्माणको काम हुँदै आएको हो ।
मेची राजमार्गको विव्ल्याँटे बजारबाट १३ किलोमिटरको दुरीमा पर्ने माइपोखरी यात्राका लागि ७ किलोमिटर पक्की बाँकी कच्ची सडक यात्रा गर्नुपर्छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ ।
असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाखमा माइपोखरी भ्रमण उपयुक्त मानिन्छ । धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्वको माइपोखरीमा अहिले त्रिधार्मिस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणको काम हुँदै आएको हो ।
३ वटा पोखरी रहेको माइपोखरी रामसार क्षेत्रको जोरपोखरीमा जलासय निर्माणको काम धमाधम हुँदै आएको छ । अहिले जोरपोखरी क्षेत्रमा पर्यटकका लागि बोटिङ्गको सुविधा छ ।