इलाम । ‘नाई नभन्नू ल’नामक नेपाली चलचित्रको चार वटा सिक्वेल चलचित्रले नेपाली बजार तताएको थियो । सबैभन्दा बढि सिक्वेल भएको नेपालकै इतिहासको पहिलो चलचित्र नाई नभन्नू ल को पाँचौ सिक्वेलका लागि इलाममा अध्ययन गरिएको खुलेको छ । चलचित्रका निर्माता तथा निर्देशक विकासराजआचार्य र टीमले केहि समय अघि इलाममा आई सो अध्ययन गरेको थियो ।
छायाङ्कनको लागि सो टिमले इलामका विभिन्न स्थानको अवलोकन गरेको भालुढुङ्गा पर्यटन प्रबद्र्धन सामुदायिक विकास संस्थाका कोषाध्यक्ष प्रविन श्रेष्ठले बताए । ५ दिन सम्म इलामका विभिन्न स्थानमा पुगेर उनीहरुले अध्ययन गरेका थिए । इलामका पर्यटनकर्मीहरु प्रविन श्रेष्ठ, हरि गुरुङ र प्रमोद श्रेष्ठको टीमले चलचित्रको टीमलाई स्थान छनौटमा सहजिकरण गरेको थियो ।
टोलीले इलामको चियाबारी, भालुढुङ्गा, विभिन्न मन्दिरहरु, माइपोखरी, श्रीअन्तु र इलामका सम्भावित घरहरु लगायत विभिन्न स्थानहरुको भ्रमण गरेको थियो । इलाममा ५ वा १० प्रतिशतमात्र छायाँकन गर्ने सोचेर इलाम आइपुगेका विकासराजले इलाम भ्रमणपछि चलचित्रको अधिकांश छायाङ्कन इलाममा गर्ने सोच बनाएर फर्किएको हरि गुरुङले बताए ।
चलचित्रमा इलामका स्थानीय कलाकार समेत छनौट गर्ने निर्माता तथा निर्देशकको लक्ष रहेको टोली सदस्य प्रमोद श्रेष्ठले बताए । चलचित्र कहिलेदेखि छायाङ्कन गरिने भन्ने विषयमा भने जानकारी प्राप्त भएन । यसै विच चलचित्रका निर्माता तथा निर्देशक विकासराज आचार्यले भालुढुङ्गा क्षेत्रमा दुईवटा फलामे लङ चेयर राख्नका लागि भालुढुङ्गा पर्यटन प्रबद्र्धन सामुदायिक विकास संस्थाका अध्यक्ष हरि गुरुङलाई १७ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
आइतबार काठमाण्डौमा भएको भेटमा निर्देशक आचार्यले इलामको पर्यटन प्रवद्र्धनका लागि सो समितिले गरेको कामको उच्च सम्मान गर्दै सानो सहयोग गरेको प्रतिक्रिया दिए ।