Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा पर्यटनमन्त्रीसँग जनप्रतिनिधि : पर्यटन प्रवद्र्धनको लक्ष्य

सन्दकपुरमा पर्यटनमन्त्रीसँग जनप्रतिनिधि : पर्यटन प्रवद्र्धनको लक्ष्य

  • सुजन तिमल्सिना
  • सोमबार, असोज १ २०८०


सन्दकपुरमा पर्यटनमन्त्रीसँग जनप्रतिनिधि :  पर्यटन प्रवद्र्धनको लक्ष्य

सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि सस्कृति पर्यटन तथा नागरिक उड्यय मन्त्री सुदन किराँती, जनप्रतिनिधि, संचारकर्मीसँगको अन्तरसम्बाद सम्पन्न भएको छ । सन्दकपुरको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने लक्ष्यका साथ प्रेश सेन्टर नेपाल कोशी प्रदेश समितिको आयोजनामा अन्तरसम्बाद सम्पन्न भएको हो ।
अन्तरसम्बादमा प्रदेशको १४ जिल्लाका डेढ सय बढी पत्रकारहरुको उपस्थिति थियो । पर्यटन प्रवद्र्धनको मुख्य लक्ष्यका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले संघीय सरकारको ध्यान पर्यटन प्रवद्र्धनमा हुनुपर्ने बताएका थिए ।
जनप्रनिधिको आशा संघीय सरकारसँग
भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिका क्षेत्रका नेपाली भु–भागहरु विश्वभरका पर्यटकीय गन्तव्य छन् । त्यतिमात्रै हैन विश्वमा परिचित रामसार क्षेत्र, असंख्य झरनाहरु, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा लगायत सयौँ प्रजातीका चराहरुको बासस्थान रहेको सन्दकपुरमा पर्यटन प्रवद्र्धनका लागि पर्याप्त श्रोत भएकाले संघीय सरकारले सहयोग गर्नुपर्ने जनप्रतिनिधिहरुले बताए । अन्तरक्रियामा बोल्दै सन्दकपुर वडा नम्बर १ का अध्यक्ष रहरकुमार राईले कृषिसँगै पर्यटन सन्दकपुरको मुख्य श्रोत भएको बताए । उनले वडा नम्बर १ मा विश्वमा सुचिकृत रामसार क्षेत्र माईपोखरी, माईपोखरीबाट निकास भएको पानीबाट छङ्छङ बग्ने छाँगे झरना, लोपउन्मुख गलैचे झ्याउ, सुनगोहोरो, असंख्य चराहरुको बासस्थान भएको अधिकारीबाससँगै दर्जनौ पर्यटकीय क्षेत्र समेत रहेको बताए । उनले भने–गाउँपालिकाबाट हामीले पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणका प्रयास गरेका छौँ, अब हामीलाई संघीय सरकारले बजेटमा सहयोग गर्नुपर्छ । इलाम सदरमुकामसम्म माईपोखरी जोड्ने सडक चाँडो कालोपत्रे गर्नुपर्नेमा वडाअध्यक्ष रहरकुमार राईको जोड थियो ।


सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राईले पर्यटकीय गाउँपालिका सन्दकपुरको विकासका लागि प्रदेश र संघ सरकारले अझै लगानी बढाउनुपर्ने बताए । सन्दकपुरका पर्यटन प्रवद्र्धनबाट भारतको पश्चिम बंगाल राज्यले अर्बौ कमाएको छ, अब हामी तीनै तहका सरकारहरु मिलेर सन्दकपुरको देशको अर्थतन्त्र विकास गर्ने लक्ष्य बनाउनुपर्छ । उनले वडा नम्बर २ मा कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडा, कनकाई माई नदीको मुहान क्षेत्र, पर्यटकीय क्षेत्र छिन्टापु, दर्जनौ पोखरी, सिमसार, रेडपाण्डाको अवलोकन क्षेत्र, टोड्के झरना लगायतका पर्यटकीय क्षेत्र रहेको बताए । उनले श्रीयाङ्जी, सोमेलाक्मालुङ ऐतिहासिक ढुङ्गा, असंख्य जडिबुटी, भिरमौरी, चराहरुको बासस्थान रहेको क्षेत्र रहेकाले पर्यटकहरु आवतजावत बढेको बताए ।


उनले भने–‘पर्यटकीयस्थहरु जोड्ने माईपोखरी, छिन्टापु, सन्दकपुर जोड्ने पूर्वाधार निर्माणको काम हुँदै आएपनि अझैँ पूर्वाधाररको आवश्यकता रहेको छ ।’ वडाअध्यक्ष राई महाभारत पर्वतको दोस्रो अग्लो पहाड छिन्टापुमा पर्यटक बास बस्ने गेष्ट हाउस निर्माणको अति आवश्यकता रहेको बताए । भारतको पश्चिम बंगालका पर्यटकहरुको आकर्षण सन्दकपुरमा बढेको छ, तर पर्यटकहरुको सुविधाका लागि अझ पर्यटन पूर्वाधार निर्माणको आवश्यकता रहेको वडाअध्यक्ष राईले बताए ।
अन्तरक्रियामा सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले सन्दकपुरका ५ वटै वडाहरुमा आकर्षक पर्यटकीय गन्तव्य रहेको बताए । सन्दकपुर पर्यटनका दृष्टिले सुनको अण्डा जस्तै छ उनले भने–‘माईपोखरीबाट शुरु भएको पर्यटकको यात्रा सन्दकपुर डाँडासम्म पुगेर टुङ्गीन्छ ।’ माईपोखरी नजिकै स्वर्गीय डम्बरसिंह सुनुवार प्राकृतिक संग्राहलय, सहिद भुमि सात खाल्डे पर्यटकीय गन्तव्य  रहेको बताए । उनले सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासनीक केन्द्र रहेको
देउराली बजार क्षेत्र पर्यटकहरुको बास बस्ने क्षेत्र रहेको बताए ।


‘पर्यटनका माध्यमबाट आर्थिक आयआर्जनमा होमस्टे र होटलहरुको महत्वपूर्ण भुमिका रहेको छ– वडाअध्यक्ष बुर्जाले भने–‘हामी पर्यटन प्रवद्र्धनका लागि आदिवासी जनजातिको सस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्राहलय निर्माणको काम गरिरहेका छौँ ।’ उनले वडा नम्बर ३ को टारि बेंसि, सुतुलुङ ढुङ्गा र नेपालमा किबि खेतीको व्यवसायीक विकास भएको सुलुबुङ तालगाउँ क्षेत्रमा पर्यटकहरुको आकर्षण रहेको बताए । सुलुबुङको टारि क्षेत्रमा लोभलाग्दो फाँट भएकाले स्थानीय जनताहरु टारि बेंसिका माध्यमबाट आन्तरिक पर्यटक भित्रयाउन प्रवद्र्धनमा लागेका छन्–उनले भने–‘गाउँपालिकाले टारी सुतुलुङ, खरिबोटे बेंसि र तालगाउँ क्षेत्रलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना बनाएकाले संघीय सरकारको सहयोग आवश्यकता छ ।

सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले कृषि र पर्यटनका माध्यमबाट अर्थतन्त्र सुधार गर्ने लक्ष्य लिएको बताए । गाउँपालिबाट कृषि, पशुपालन र पर्यटनमा लगानी गर्ने योजना भएपनि श्रोत अभाव भएकाले प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने बताए । नेपाल भारत सीमा क्षेत्रका पर्यटकीय गन्तव्य रहेका डाँडाहरुबाट भारतको पश्चिम बंगालले अधिक आम्दानी गरेको छ, अब हामी पनि त्यसरीनै आम्दानी बढाउने योजना बनाएका छौँ उनले भने–‘पर्यटन प्रवद्र्धन गरि डलर कमाउने लक्ष्यलाई संघीय सरकारले सहयोग गर्नुपर्छ ।’ उनले पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका भिडियो निर्माण गर्ने, फोटो बुक प्रकाशन, ब्रोसर निर्माण गरेकाले पूर्वाधार निर्माणमा संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।


अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले पर्यटनका माध्यमबाट गाउँपालिकाले आम्दानी बढाउने लक्ष्य राखेकाले संघीय सरकारले बिषेश ध्यान दिनुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको प्रस्तावमा संघीय र प्रदेश सरकारबाट पदमार्ग निर्माण र पर्यटन पूर्वाधारमा सहयोग भएपनि ती पर्याप्त छैनन्–उनले भने–‘ हामीले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुग्ने सडक हरेक वर्ष मर्मत गर्दै आएका छौँ, यसलाई पूर्णरुपमा निर्माणका लागि संघीय सरकारले सहयोग गर्नुपर्छ ।’
पर्यटकीय छिन्टापू, जौबारी, हाँगेथाम, टोड्के झरना जोड्ने सडकहरु स्तरउन्नती गर्नका लागि हामीलाई बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ उनले भने–‘ यी क्षेत्रमा देश विदेशका पर्यटकको आकर्षण बढ्दो छ, सडक स्तरउन्नती गरि हामीले बढी भन्दा बढी फाइदा लिनुपर्छ ।’ उनले वडा नम्बर ४ को माबुथाममा निर्माणाधिन भ्यु टावर निर्माण सम्पन्न गर्ने लक्ष्य यसै वर्ष रहेको बताए । सन्दकपुर ४ क्षेत्रमा लामा साधाना केन्द्र, बौद्ध गुम्बाहरु रहेको र पर्यटकहरुको आकर्षण रहेको उपाध्यक्ष लुङ्गेलीले बताए । उनले भने–‘ सन्दकपुर ४ सास्कृतिक ग्राम जस्तै छ विभिन्न जातजातिको सस्कृति अध्ययनका लागि पर्यटक आउने क्रम बढ्दो छ ।’ उनले सन्दकपुर ५ को हाँगेथाम, चोयाटार, जौबारी, आहालभञ्ज्याङ, गैरीबास, कैयाकट्टा, ढापपोखरी क्षेत्रमा पर्यटन पूर्वाधारको आवश्यकता रहेको बताए ।


अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले संघीय सरकारबाट एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित सन्दकपुर धार्मिक, सास्कृतिक, जैविक विविधता, कृषि, पशुपालन र पर्यटकीय संभावनाका दृष्टिले अग्रणी रहेकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरि प्रवद्र्धन गर्न पालिका तयार रहेको बताए । पहाडी जिल्लाको प्रथम रामसार क्षेत्र माईपोखरी, लाखौँले पुजा गर्ने कन्काई माई नदी, पुवाखोला, महाभारतको अग्लो पहाड सन्दकपुर, छिन्टापु, लोपउन्मुख वन्यजन्तु, चराहरुको बासस्थान रहेको सन्दकपुरको प्रवद्र्धनमा हामी सबै जुट्नुपर्छ अध्यक्ष गुरुङले भने–‘हामीले शुरु गरेको पर्यटन प्रवद्र्धनको यात्रामा माननिय मन्त्री सुदन किराँतीबाट र संघीय सरकारको सहयोगको अपेक्षा गर्दछौँ ।’ सिमसार र पोखरीहरु त धेरै छन्, ती सिमसार वरिपरि सयौँ प्रजातीका चराहरुको बासस्थान रहेको छ, उनले भने–‘ यहाँ पर्यटकहरु आउने क्रम बढेकाले पूर्वाधार निर्माणमा सरकारको सहयोगको अपेक्षा राखेका छौँ ।’
मन्त्री किराँती भन्छन् :  इलाम त्यसै सुन्दर सन्दकपुर त झनै सुन्दर
सस्कृति पर्यटन तथा नागरिक उड्यय मन्त्री सुदन किराँतीले इलाम नेपालकै सुन्दर जिल्ला भएकाले इलाम भित्रको सन्दकपुर झनै सुन्दर रहेको बताए । इलामबासीले गर्ने पाहुनाको स्वागत सत्कारले आफु प्रभावित भएको मन्त्री किराँतीले बताए । इलाम भित्रको सन्दकपुर सन् २०२० मा सय गन्तव्यमा घोषित सन्दकपुर गाउँपालिका र इलामको अग्लो डाँडा सन्दकपुरको ब्राण्डिङ गर्न हामी तयार छौँ ।
सूर्योदयको दृश्य, ६० बढी हिमालका दृश्यहरु हेर्न सकिने सन्दकपुर डाँडाको प्रचारप्रसार र पूर्वाधार निर्माणमा मन्त्रालय तयार रहेको मन्त्री किराँतीले बताए । जैविक विविधता, डाँडाकाँडा र दर्जनौ चराहरुको दृश्य हेर्न हामीले हजारौ पर्यटकलाई आकर्षित गर्न सक्छौँ मन्त्री किराँतीले भने–‘इलाम झापाको सीमा क्षेत्र रोङ गाउँपालिकाबाट सन्दकपुरसम्मको पदमार्ग निर्माणमा अब मन्त्रालयले अध्ययन गर्छ ।’ झापाको गर्मि छल्दै सन्दकपुरको डाँडासम्म पुग्दा सायद जो कोहिले स्वर्गीय आनन्द लिन्छ, हाम्रो देशको पर्यटन भनेकै यही हो ।
‘तीन वटा देशको भु–भाग देखिने चार वटा देशको हिमाल देखिने विश्वको एकमात्रै ठाउँ सन्दकपुरको डाँडामा पुग्ने रहर भएपनि आफ्नो स्वास्थ्यले साथ नदिएको मन्त्री किराँतीले बताए । हामीले नेपालको भु–भागमा जहाँ टेक्यो त्यहि पर्यटनको संभावना छ, तपाईहरुको गाउँपालिकामा अथाहा पर्यटनको संभावना रहेछ मन्त्रालयले चालु आर्थिक वर्षमा केहि न केही सम्बोधन गर्छ ।’ विश्वको रामसार क्षेत्र माईपोखरी क्षेत्र त झनै आकर्षक धार्मिक पर्यटकीय गन्तव्य रहेछ, मन्त्री किराँतीले भने–‘एक धर्म र अर्को धर्मबिच काटमार भइरहेको बेला हिन्दु, बौद्ध, किराँत धर्मको आस्थाको केन्द्र माईपोखरीलाई रि–ब्राण्डिङ गर्न सहयोग गर्छु ।’
माईपोखरी त हिरा हो, यसले सामाजिक सद्भाव मात्रै कायम राखेको छैन राष्ट्रिय एकता समेत कायम राख्नमा सहयोग गरेको छ । उनले भने– इलामको रोङ गाउँपालिका सूर्योदय नगरपालिकाको कन्याम, अन्तु इलाम नगरपालिका हुँदै सन्दकपुरलाई जोड्ने पर्यटकीय पदमार्ग निर्माणका लागि आगामि आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने प्रतिवद्धता गर्छु । उनले भने–सन्दकपुर गाउँपालिकाबाट मलाई तीन वटा माग राखेर बजेट माग गरिएको छ, म मंसिरपछि सन्दकपुरलाई बिषेश ध्यानमा राखेर बजेट पठाउने प्रतिवद्धता जनाउँछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार